भारतलाई आठौं पटक एसिया कपको उपाधि

भक्तपुर, असोज १
भारतले श्रीलंकालाई १० विकेटले हराउँदैं आठौं पटक एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा भारतले एसिया कप २०२३ को आइतवार सम्पन्न फाइनलमा घरेलु टोली श्रीलंकालाई हराउँदै उपाधि जितेको हो ।
यसअघि भारतले सन् १९८४, १९८८, १९९०÷९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।
जितको लागि ५१ रनको झिनो लक्ष्य पछ्याएको भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पुरा गरे । भारतका ओपनरद्धय शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रन र ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा अविजित रहे ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो । श्रीलंकाको यो एकदिवसीय क्रिकेटमा दोस्रो कम योगफल हो । श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो ।
एकदिवसीय क्रिकेटमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन् । जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए ।
श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ५ खेलाडीले खाता खोल्न सकेनन् ।
एक समय ५.४ ओभरमा १२–६ को दयनीय अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि दुनिथ वेलालागे र कुशल मेन्डिसले २३ रनको साझेदारी गदै उकासेका थिए । कुशल मोहम्मद शिराजकै १२ औं ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका थिए । शिराजले ब्यक्तिगत छैटौं विकेट पूरा गरेका थिए । कुशल आउट भएसँगै श्रीलंको झिनो आशा समाप्त भएको थियो ।
श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए ।
तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको चार विकेट लिएपछि भारत पुरै खेलमा हाबी बनेको थियो । चौथो ओभरको पहिलो बलमा शिराजले अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए । एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट भएका थिए । पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए ।
ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा सिल्भा पनि एज लागेर राहुलबाट क्याच आउट भएपछि श्रीलंका संकटमा पुगेको थियो । शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गर्दै आफ्नो पाँच विकेट पुरा गरेका थिए ।
भारतका मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ६ विकेट लिए । हार्दिक पान्ड्याले २.२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले १ विकेट लिए ।
भारतले समूह चरणमा नेपाललाई १० विकेटले हराएको थियो । पाकिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । भारत बंगलादेशसँग ६ रनले हार्न पुगेको थियो ।