रत्नपार्क–सूर्यविनायक सडकमा असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन हुने

भक्तपुर, असोज १
काठमाण्डौंको रत्नपार्कदेखी भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर यही असोज ३ गतेबाट सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ भने यातायात व्यवस्था विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरिरहेको छ ।
द्रुत बस सेवाको लागि सडकमा छुट्टै लेनको लागि अहिले मार्किङको काम धमाधम भइरहेको छ । लेनको आवश्यक तयारी पुरा भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो ।
द्रुत बस सेवाको लागि सूर्यविनायक देखी जडिबुटी मनोहरा पुलसम्मको सडक खण्डमा बाँया लेनमा रातो रङ्गले मार्किङ गरिएको छ । उक्त लेनमा द्रुत बस सेवा सञ्चालन हुने समय बिहान ९ बजेदेखी ११ बजेसम्म र साँझ ५ बजेदेखी ७ बजेसम्म ४ घण्टा अन्य सवारी साधन चलाउन नपाउने व्यवस्था गरिनेछ । त्यसबाहेकको समयमा भने अहिलेजस्तै सबै प्रकारका सवारीसाधन ती लेनबाट पनि चल्न पाउनेछन् । द्रुत बसहरु चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ ।
यो सेवा अन्तर्गतका बस चोकचोकमा रहेको ट्राफिक लाइटमा रोक्न नपर्ने व्यवस्था गरिएको छ । हाललाई यस्ता बसमा द्रुत सेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी छ ।
नेपालमा पनि द्रुत बससेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सडक विभागका महानिर्देशकको संयोजकत्वमा एउटा समिति बनाएको थियो । सो समितिले सूर्यविनायक–रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । त्यही सुझावका आधारमा डेडिकेटेड लेनसहितको द्रुत बस सेवा सञ्चालन थालिएको हो ।
द्रुत सेवा सञ्चालनका लागि तीन मिटरको डेडिकेटेड लेन नै छुट्याइएको छ । ‘सूर्यविनायकदेखि मनोहरा पुलसम्म सडकको बायाँ लेनलाई डेडिकेटेडमा रुपान्तरण गरिएको छ । मनोहरा पुलदेखि माइतीघरसम्म सर्भिस लेनलाई नै डेडिकेटेडमा परिणत गरिएको छ र माइतीघरदेखि रत्नपार्कसम्म वानवे भएकाले दायाँपट्टीको लेनलाई डेडिकेटेडमा परिणत गरिएको छ ।