कोइकाको टोलीद्धारा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अवलोकन

भक्तपुर, भदौ २९
कोरियन इन्टरनेशनल को–अपरेटिभ एजेन्सी (कोइका)का प्रतिनिधिमण्डलले बिहिवार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अवलोकन निरिक्षण गरेको छ । कोरियाली सरकारको सहयोगमा दोस्रो चरण अन्तर्गत नयाँ भवन निर्माणका लागि कोइकाको प्रतिनिधिमण्डलले अस्पतालको अवलोकन र निरिक्षण गरेको हो ।
सो अवसरमा कोइकाको उपप्रमुख नेतृत्वको टोलीले अस्पतालको नयाँ भवन निर्माण स्थलको स्थलगत अवलोकन गर्नुभयो । त्यसैगरी टोलीले अस्पतालमा उपचार गरिरहेका बिरामीलाई भेटघाट गर्नुका साथै अस्पतालका पदाधिकारीहरुसँग छलफल गर्नुभयो । छलफलमा अस्पतालको प्रस्तावित भवनको डिजाइन बारेमा प्राविधिकसहित छलफल भएको थियो ।


सो अवसरमा कोइका, नगरपालिका र अस्पताल प्रशासनलगायतका सरोकारवाला निकायले अस्पतालको प्रस्तावित भवन तोकिएको समयभित्र सम्पन्न गरी सेवा प्रवाह गर्न प्रतिवद्धता जनाएका थिए ।
कोरिया सरकारले अस्पतालको प्रस्तावित भवन निर्माणका लागि करिव एक अर्ब २५ करोडको अनुदान सहायता सम्बन्धमा जीटुजी सम्झौता समेत भइसकेको जानकारी दिँदैं मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले छिटो भन्दा छिटो भवन निर्माणका लागि अहिलेको भ्रमण भएको बताउनुभयो ।
उहाँले कोरियाली प्रतिमण्डले अस्पतालले गरिरहेको सेवा प्रति अत्यन्त अभिरुचीपूर्वक जानकारी लिएको र यसलाई थप बिस्तार गर्दै लैजान कोरियाली सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्ध रहेको बताउनुभयो ।


टोलीलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदी, अस्पतालका प्रमुख कार्यकारी डा. डि.के. रौशन, नगरपालिकाका महाशाखा प्रमुखहरु, अस्पतालका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । टोलीको स्वागतमा नगरपालिकाले परम्परागत महाकाली नाचसहित साँस्कृतिक झाँकी प्रस्तुत गरेको थियो ।