हान्झाउ एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडीले सहभागिता जनाउने

भक्तपुर, भदौ २८
चीनको हान्झाउमा हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै ठूलो टोली पठाउँदैछ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६–२३) सम्म हुने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद्को बिहिवार बसेको ११७ औ बोर्ड बैठकले २९ खेलका १२७ महिला र १२६ पुरुष गरी २५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो ।
नेपालले केही नयाँ खेललाई पनि सहभागी गराउँदै छ । महिला भलिबल, महिला फुटबल, महिला कबड्डी, महिला ह्याण्डबल, पुरुष रग्बीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ । यस्तै डान्स स्पोर्ट्समा पनि नेपाली खेलाडी सहभागी हुँदैछन् ।
२४ खेलाडी सहभागी गराउने भलिबल (पुरुष र महिला गरी) बाहेक सबैभन्दा धेरै खेलाडी सहभागी गराउनेमा ई–स्पोर्ट्स दोस्रो स्थानमा छ । ई–स्पोर्ट्सका पाँच इभेन्टमा नेपालका २३ खेलाडी सहभागी हुने छन् ।
यसअघि ई–स्पोर्ट्समा ५ खेलाडी मात्र गणना गरेर राखेपले २३४ खेलाडी सहभागी हुने बताए पनि २३ खेलाडी सहभागी हुने भएपछि नेपालबाट सहभागी हुने कुल खेलाडी २५३ पुगेको हो । पहिलो पटक एसियाड खेल्न लागेको महिला फुटबल टिममा २२ खेलाडी छन् । भारोत्तोलनमा यसअघि ४ खेलाडी सहभागी हुने भनिएकोमा अहिले बढेर ५ भएको छ ।
यस बाहेक नेपालबाट आर्चरीमा ४, एथलेटिक्समा ८, बास्केटबलमा ४, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २, फेन्सिङमा ६, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।
सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै २०३ खेलाडी सहभागी थिए । त्यसबेला नेपालले २५ खेलमा सहभागिता जनाएको थियो । त्यसपछि २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए । अहिले केही खेल थप घट हुँदा खेलाडी संख्या बढेको छ । नेपालबाट टिम खेलमा मात्रै १०५ खेलाडी सहभागी हुँदैछन् ।


यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले टोलीलाई बिदाइ गरेका हुन् । केही खेलका खेलाडी वैदेशिक प्रशिक्षण र उपत्यका बाहिर प्रशिक्षणमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन आग्रह गर्दै ‘यस पटक नेपालले राम्रो गर्ने विश्वास व्यक्त गरे । उनले आफू पनि एसियाडको उद्घाटन सत्रमा सहभागी हुने जानकारी गराए ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९ औं एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरे । युवा तथा खेलकुद मन्त्री डिगबहादुुर लिम्बुले सिंगो नेपाली जनता खेलाडीहरुको साथमा रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गरे ।
हाङझाव एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रस्तुत गर्दैछन् । नेपाली टोलीको सेफ दी मिसनमा सदस्यसचिव घिसिङ तथा डेपुटी सेफ दी मिसनमा राखेप बोर्ड सदस्य अन्जन धमला र ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य छन् ।