मध्यपुर थिमिलाई बालमैत्री नगर घोषणा गर्ने अभियान शुरु

भक्तपुर, भदौ २९
मध्यपुर थिमि नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान शुरु गरिएको छ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा शुक्रवार नगरपालिकाका प्रमुख उपप्रमुखसहितका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरुलाई अभिमुखीकरण गर्दै सो अभियान शुरु गरिएको हो ।
कार्यक्रममा सहजकर्ता विष्णुप्रसाद चौवेले बालमैत्री नगरका सूचांकका बारेमा अभिमुखीकरण गर्दै बालमैत्री स्थानीय शासन, नीतिगत प्रक्रियागत कार्य कार्यान्वयनका लागि अवलम्वन तथा घोषणा सम्बन्धी जानकारी दिनुभयो ।
उहाँले बालमैत्री स्थानीय शासन मार्फत बालअधिकारमा नेपालको सोचका साथै सिएफएलजी अवधारणा स्पष्ट हुने भएकोले बालमैत्री नगर घोषणा गर्नु अपिहार्य रहेको बताउनुभयो । सिएफएलजी, कार्यान्वयनको चरण, कागजात व्यवस्थापन, बालमैत्री सिकाई, बालबालिकाको लागि संवैधानिक र कानुनी व्यवस्थाका साथै स्थानीय सरकार सञ्चालन ऐनका बारेमा समेत चौवेले अभिमुखीकरण गर्नुभयो ।
कार्यक्रममा बालमैत्री स्थानीय शासनका सूचांकहरु र अवस्थाका बारेमा जानकारी दिँदैं उहाँले बालबालिकामा लगानी गर्नुपर्ने नीतिगत र कानुनी आधारमा बारेमा समेत स्पष्ट पार्नुभयो ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले बालबालिकाको समग्र विकासलाई मध्यनजर गर्दै विशेष कार्ययोजनासहित काम गर्दै आइरहेको बताउनुभयो । नगरपालिका बालबालिकाहरुको मात्र नभएर आम नगरबासीको अधिकार प्रति सचेत र उनीहरुको बृत्ति विकासमा चिन्तित रहेको बताउँदैं उहाँले नगरपालिकाले बालबालिकाको क्षेत्रमा गर्दै आइरहेको कार्यलाई नीतिगत र व्यवहारिकरुपमा बालमैत्री स्थानीय शासनसँग जाडेर लैजाने र नगरलाई बालमैत्री घोषणाको चरणमा पुग्ने प्रतिवद्धता जनाउनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र समग्र बृत्ति विकासको लागि कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले नगरको योजना निर्माण, नीति तथा कार्यक्रम र बजेट विनियोजनमा समेत लक्षित समूदाय अन्तर्ग बालबालिकाको क्षेत्रमा लगानी गर्दै आइरहेको बताउँदैं बालमैत्री स्थानीय शासनमार्फत बालबालिकाको अधिकारका क्षेत्रमा समेत काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदीले बालमैत्री स्थानीय शासन अन्तर्गत बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, श्रम शोषण र उनीहरुको अधिकारका बारेमा सचेतना फैलाउनुका साथै ती विषयका सूचांकका आधारमा बालअधिकारको प्रत्याभूति दिलाउने विषय नै बालमैत्री नगर भएकोले नगरका सबै सरोकारवालाहरुले अपनत्व लिएर अगाडि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, महिला स्वयम् सेविकाहरु, संस्थागत र नीजि विद्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, यातायात व्यवसायीहरु, बाल क्लव, सहकारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।