असोज ३ गतेदेखी विद्यालय बन्द गरेर सडक आन्दोलन गर्ने शिक्षकको चेतावनी

भक्तपुर, भदौ २
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा आगामी असोज ३ गतेदेखी देशभरका विद्यालय बन्द गरी सडक आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेको हो ।
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न नसकेको महासंघको आरोप छ ।
महासंघका अध्यक्ष कमला तुलाधरले सरकारले शिक्षकहरुले बेला–बेला गरेको आन्दोलनमा सहमति गरेको र उक्त सहमति अनुसार काम नगरेको भन्दै सडक आन्दोलनमा जाने निर्णय गरेको बताउनुभयो ।
उहाँले विद्यालय बन्द गरेर आन्दोलन गर्ने रहर नभएपनि सरकारले नै आन्दोलनमा जान बाध्य पारेको बताउनुभयो । आन्दोलन हाम्रो रहर होइन तर सरकार हामीलाई आन्दोलनमा धकेल्न खोज्दैछ । अबको आन्दोलनमा ठूलो आँधिबेहरी आउने छ । कसैले पनि रोकेर रोक्न सक्दैन, उहाँले भन्नुभयो ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउँदैं जायज मुद्दा सरकारले सम्बोधन गरेपछि मात्रै आन्दोलन अन्त्य गर्ने दावी गर्नुभयो ।
संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले विद्यालय बन्द हुनु हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरामा जोडिएका शिक्षकहरुमाथि विधेयकले विभेद गरेकोले आन्दोलनमा जान बाध्य पारेको बताउनुभयो ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लच्छीराम ढकालले ५२ वर्षपछि बन्न लागेको शिक्षा ऐन ५२ वर्षभन्दा पनि पहिलेको जसरी आएको टिप्पणी गर्नुभयो । विद्यालयभित्र काम गर्ने शिक्षक र कर्मचारीहरुको पेशागत सुरक्षामा सरकार गम्भीर नभएको आरोप लगाउँदैं अहिलेको विधेयकले शिक्षक, कर्मचारीलाई मुर्ख बनाउन खोजेको बताउनुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले नेपालको संविधानलाई हवला दिएर शिक्षा विधेयक ल्याउन खोजिएको बताउँदै राज्यले शिक्षालाई ध्वस्त बनाउन खोजेको आरोप लगाउनुभयो । आज जसरी शिक्षकहरुमाथि अन्याय र विभेद तिमीहरुले लगाउन खोज्दैछौ, यदि त्यो सच्याइएन भने मलाई लाग्छ तिम्रो सत्ता पनि धरापमा पर्नेछ,’ उहाँले भन्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका कार्यवहाक अध्यक्ष कमला थापाले जनशक्ति तयार गर्ने शिक्षा क्षेत्रलाई सरकारले बेवास्ता गरेको बताउनुभयो । शिक्षकको हातखुट्टा बाँधेर विधेयक ल्याउन खोजेको भन्दै उहाँले सम्पूर्ण शिक्षक र कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्नुभयो ।
नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष सोमनाथ गिरी सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकका विरुद्ध मुलुकका चार लाखभन्दा बढि शिक्षक कर्मचारी सडकमा आउने बताउनुभयो । उहाँले सरकारले शिक्षकहरुको मुद्दामा पटक–पटक सहमति गर्ने र आफूहरु कक्षाकोठामा गएपछि बेवास्ता गर्ने गरेको आरोप लगाउनुभयो ।