थिमिको बालकुमारी वनमा शव फेला

भक्तपुर, भदौ ३०
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षिय परमेश्वरी दाहाल मृत अवस्थामा फेला परेको छ । गत साउन १० गते हराएकी दाहाल मध्यपुर थिमि नगरपालिका ४, तसीटोलस्थित बालकुमारी सामूदायिक वनमा शनिवार मृत अवस्थामा फेला परेको हो ।
बालकुमारी सामूदायिक वनमा घाँसपात गर्न गएका स्थानीयले रुखमा सलको पासो, तल भुईंमा टाउको छुट्टीएर खप्पर मात्र र शरिरमा कुर्था सुरुवाल लगाएको सडेगलेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
तत्काल प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा उक्त शव दाहालको भएको खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो । शव पोष्टमार्तमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको जानकारी दिँदैं पाठकले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।