झ्यालबाट खसेर ७ वर्षिय बालकको मृत्यु

भक्तपुर, भदौ ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट बृहस्पति मार्गमा घरको तेस्रो तलाको झ्यालबाट खसेर ७ वर्षिय बालकको मृत्यु भएको छ । अछाम मेलेकु नगरपालिका घर भई बालकोट बृहस्पति मार्गमा डेरा गरी बस्ने राम बहादुर बुढाको ७ वर्षिय छोरा डेविड डाइमण्ड बुढाको आफ्नै डेरा कोठामा खेल्ने क्रममा शुक्रवार झ्यालबाट खसेर मृत्यु भएको हो ।
करिव पौने ६ बजे घरको तेस्रो तलाको झ्यालबाट खसेर गम्भिर घाईते भएका डेविडलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगिएको थियो । त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
झ्यालबाट खसेका डेविड सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा परेर गम्भिर घाईते भएको डिएसपी पाठकले बताउनुभयो । घटनाको थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।