चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्नुपर्छ ः कांग्रेस सहमहामन्त्री यादव

भक्तपुर, भदौ २१
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छेन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उहाँले राजदुत छेनको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताउँदैं उहाँलाई स्पष्टिकरण सोध्नु पर्ने धारणा राख्नुभएको हो ।
“नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो,” उहाँले भन्नुभयो ।
उहाँले चीनसँग पनि नेपालको मित्रवत व्यवहार भएको बताउँदैं दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको राजदुतले नेपालको सार्वभामिकता हनन हुने र नेपालीहरुको अपमान हुने धारणा राखेको बताउनुभयो ।
उहाँले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदुतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युतको कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौं । भारतसँग भने १७ अर्ब विजुली किनेका छौं । नेपालमा लोडसेडिंग भएको बेला भारतले सहयोग गरेको हो । भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सिमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन् । यही भएर विशेषखालको समबन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन् ।” उहाँले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभयो ।
यादवले राजदुत छेनको अभिव्यक्तिबारे नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “परराष्ट्र मन्त्रायलले यो मामलिामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ । जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन् । चिनियाँ राजदूत हाम्रो हेडमास्टर होईन । उहाँले हामीलाई पढाउने होईन । सिकाउने होईन ।”
नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरुलाई कुटनीतिक मामिलामा सिकाउने स्विकार्य नभएको उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो, “कुटनीति हामीलाइ पनि थाहा छ । चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ । हामीले चीनलाई केरुङ–काठमाडौं रेलमार्ग बनाईदेउ भनेका छौं । तर भएको छ त ? हामीले त अनुदान र फ्रि मा बनाउन भनेका छौं । पोखराको एयरपोर्ट चाहिने लागत भन्दा दुई गुणा बढिमा निर्माण भएको छ । अहिले त्यसको प्रयोग नै भएको छैन् । त्यसको पनि ऋण थपिएको थपिएै छ । ब्याज बुझाउन सकेका छैनौं ।”
उहाँले चीनले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको चुच्चे नक्शालाई नराखेकोमा पनि आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “चीनले आफ्नो नक्शा जारी गर्यो, अरु देशको जमिन राखेर बनाउने होईन । हाम्रो चुच्चे नक्शा छ । संसद्ले पास गरेको छ । अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्शा राखेन । चीनसँगका हाम्रा नाकाहरु कोभिडकै बेलामा बन्द भए । हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौं । तर, भारतबाट राहत पायौं । हामीलाई परेको बेलामा भारतबाट सहयोग भैरहेको छ । अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस । पढाउने कोशिस नगर्नुहोस । सरकारले स्पष्टीकरण सोध्नुपर्छ । लिनुपर्छ ।”
उहाँले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुशी व्यक्त गर्नुभयो । तर, सरकारले आफ्नो मान्छे बचाउने र अरुलाई प्रतिशोध साँध्ने काम गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, “सबैले भ्रष्टाचार नहोस भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनसिलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरुको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।”
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाईएको छ । दोष केही पनि छैन् । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन् ।” उहाँले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पार्नुभयो ।