भारतका शरवणनलाई मिस्टर एसियाको उपाधि

भक्तपुर, भदौ २१
भारतका शरवणन मणिले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एसियाको उपाधि हात पारेका छन् । सो स्पर्धाका दश प्रतिस्पर्धीलाई पछि पार्दै मणिले उपाधि जितेका हुन् ।
शारीरिक सुगठन तर्फको विभिन्न दश तौल समूहका विजयी खेलाडीबीच भएको मिस्टर एसियाको प्रतिस्पर्धामा मणिले उपाधि जितेका हुन । उनी ९० केजी तौल समूमा विजयी हुँदै ओभरअल राउण्डमा प्रवेश गरेका थिए ।
एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २ सय ६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय हुन सफल भएको छ ।
पुरुषतर्फ भारत ७ सय ९५ अंकका साथ पहिलो र थाईल्याण्डले ५ सय ९० अंकका साथ तेश्रो स्थान प्राप्त ग¥यो ।
महिलातर्फ थाईल्याण्डले टिम च्याम्पियनसिपको उपाधि उचाल्यो । दोश्रो स्थानमा भियतनाम र तेश्रो स्थानमा हङ्गकङ्ग चाईना रह्यो ।
बुधबार सम्पन्न पुरुष एथलेट फिजिक्स १ सय ८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे । यस विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे ।
नेपालले यस च्याम्पियनसिपमा ३ स्वर्ण ६ रजत र ५ कास्य पदक प्राप्त गर्न सफल भएको छ । बिशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण जिते ।
सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरेका थिए ।
कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक प्राप्त गरेका थिए ।
च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।
शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो ।
दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा भएको च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरी ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।