नगर प्रमुख श्रेष्ठद्धारा डुवान प्रभावित क्षेत्रको निरिक्षण

भक्तपुर, साउन २३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले डुवान प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ । सोमवार रातीदेखी परेको अविरल वर्षाका कारण जिल्लाको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले नगरका विभिन्न भाग डुवानमा परेपछि नगर प्रमुख श्रेष्ठले डुवान प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको हो ।
उहाँले हनुमन्ते खोलाले डुवानमा पारेको मध्यपुर थिमि नगरपालिकाको वडा नं. ३, ४ र ९ एवम् मनोहरा खोलाले डुवानमा पारेको बोडे र निलबाराहीका विभिन्न स्थानको निरिक्षण गर्नुभएको हो ।


उहाँले हनुमन्तेले डुवानमा पारेको राधेराधे, एसएस कलेज, सिवर्ड कलेज, थिमि चारदोवाटो देखी बालकोट जाने पुललगायतका क्षेत्रको निरिक्षण गर्नुभएको उहाँका स्वकिय सचिव पवन श्रेष्ठले बताउनुभयो । यसैगरी मनोहरा खोलाको बाढी प्रभावित बोडे, मुलपानी र निलबाराहीका साथै बोडेको लाखे पार्कमा गएको पहिरोको समेत निरिक्षण गर्नुभएको हो ।
निरिक्षणका क्रममा नगरप्रमुख श्रेष्ठले स्थानीयसँग समेत छलफल गर्नुभएको थियो । सो क्रममा उहाँले वर्षातको समयमा नदि किनार र भिरालो क्षेत्रमा बसोबास गर्नेहरुले सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले बाढी र डुवानले मानवीय क्षती नभएपनि भौतिक क्षती भएकोले भविष्यमा यस्तो विपत्ती आउन नदिन नगरपालिकाले ठोस रणनीतिका साथ विपद् व्यवस्थापनका योजना कार्यान्वयन गरिने बताउनुभयो ।