नवौं राष्ट्रिय खेलकुदको खर्च १० महिनापछि सार्वजनिक, करिव ५४ करोड खर्च

भक्तपुर, साउन २५
राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरालगायत विभिन्न ८ जिल्लामा गत वर्षको असोज–कार्तिकमा भएको नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त प्रतियोगितामा ५३ करोड ७९ लाख ०४ हजार २३९ रुपैंया खर्च भएको राखेपले जनाएको हो । प्रतियोगिताको लागि सरकारले ६० करोड १० लाख रुपैंया उपलब्ध गराएको र आन्तरिक आम्दानी ५१ लाख ५२ हजार ७० हजार रुपैंया भएको जनाउँदैं कुल ६ करोड ८२ लाख ४८ हजार ४६० रुपैंया वचत भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
घिसिङले ठूला चाडपर्वको चापकाबीच प्रतियोगिता सम्पन्न भएको र प्रतियोगिता लगत्तै आमनिर्वाचन र देशमा देखिएको आर्थिक मन्दीका कारण सरकारले कतिपय शिर्षकको बजेट कटौती लागि भुक्तानी रोक्का राखेका कारण समयमा खर्च भुक्तानी गर्न नसकिएको र सोही कारण कुल खर्च एकिन गर्न समय लागेकोले खर्च विवरण सार्वजनिक गर्न ढिलाई भएको बताए ।
“खेलाडी तथा अफिसियलको पोशाक, यातायात तथा बसोवास, खेल मैदान, खेल सामाग्री व्यवस्थापन, कार्यक्रम उद्घाटन तथा समापन, स्वयमसेवक परिचालन, निर्णायक तथा प्रशिक्षक परिचालन जस्ता विभिन्न क्षेत्रमा भएका खर्चहरुलाई एकिकृत गरि खर्चको सम्पूर्ण विवरण तयार गर्न सबै क्षेत्रको भुक्तानी भई सक्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “सरकारबाट असार पहिलो हप्ता मात्र रकम प्राप्त भएको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको एकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको हो ।” घिसिङले बजेट रोकिएका कारण स्वर्णपदक प्राप्त खेलाडीहरुको पुरस्कार रकम समेत ढिला भुक्तानी गर्नुपर्ने अवस्था आएको बताए ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म भएको थियो । उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले उपाधि जितेको थियो ।