मच्छिन्द्र एएफसीको दोस्रो चरण प्रवेश, पारो ३–२ ले पराजित

भक्तपुर, साउन २३
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै नेपाली फुटबल क्लव मच्छिन्द्र एफसीले भुटानी क्लव पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । एएफसी कप छनोटको प्रारम्भिक चरण अन्तर्गत मंगलवार काठमाण्डौंको दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र पारो विरुद्ध विजयी भएको हो ।
मच्छिन्द्रले छनोटको दोस्रो चरणमा भारतीय आई लिग क्लव मोहन बगानको सामना गर्ने भएको छ । मच्छिन्द्रको जितमा विमल घर्तीमगर, आयुष घलान र ओलावाले आफिजले गोल गरे । पारोका लागि काजुओ होम्मा र इभान अशान्ते गोल गरे ।
खेलमा शुरुवाती अग्रता पारोले लिएको थियो । पारोले खेलको ७ औं मिनेटमा नै अग्रता बनाए । खेलको ७ औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।
तर त्यसको ५ मिनेटपछि नै विमलले बराबरी गोल फर्काए । एरिक विष्टको छोटो कर्नर पासमा प्राप्त बललाई आयुषले विमललाई दिए । विमलले हेडमार्फत गोल गर्दै मच्छिन्द्रका लागि बराबरी गरे ।
खेलको १५ औं मिनेटमा आयुषले उत्कृष्ट गोल गरे । विमलले पेनाल्टी स्पट नजिक उपलब् गरेको बलमा आयुषले बाँया खुट्टाले उत्कृष्ट फिनिसिङ निकाल्दै मच्छिन्द्रलाई अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा मच्न्द्रिले अग्रता दोब्बर पारे । ओलावाले आफिजले गोल गरेपछि मछिन्द्रले ३–१ को अग्रता बनाए । आयुषले ओमालाजा करिमलाई उपलब्ध गराएको बल करिमले आलावालेलाई पास दिए र उनले कुनै गल्ती नगरी गोलमा परिणत गरे ।


खेलको पहिलो हापमा मच्छिन्द्रले ३–१ को अग्रता बनाएको थियो । दोस्रो हापमा पारोले थप सुधारिएको खेल प्रदर्शन गरेर मच्न्द्रिलाई दवाबमा राखे । लगातारको आक्रमणपछि खेलको ७१ औं मिनेटमा पारोले दोस्रो गोल गरे । पारोका लागि इभान अशान्तेले गोल गर्दै पारोलाई खेलमा फर्काउने कोशिष गरे । त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा मच्छिन्द्रले जित हासिल गरे ।
खेलको ७९ औं मिनेटमा करीमको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । लगत्तै अर्कोतर्फ पारोको डरलाग्दो आक्रमण क्रसबार नजिकबाट आकाशियो । ९० औं मिनेटमा कप्तान विशालले विश्वस्तरीय बचाउ गर्दै मछिन्द्रको जित पक्का गरे । असान्टेको क्रसमा काजुओको ६ यार्ड बक्स भित्रको प्रहारलाई उनले आफ्नो दायाँतर्फ डाइभ दिँदै विफल पारे ।
खेलको इन्ज्युरी समयमा विमलले खाली पोस्टमा बललाई पोस्टको दिशा दिन नसक्दा खेल ३–२ मा सकिएको थियो । इन्ज्युरी समयमा मछिन्द्रका लागि आशिष चौधरीले बाँयातर्फबाट दिएको उत्कृष्ट बल विमलले गोलमा परिणत गर्न भने सकेनन् ।
जितसँगैं मछिन्द्रले अब १६ अगष्टमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग कोलकतामा खेल्ने छ । यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा खेल्ने छ ।
मच्छिन्द्रले दोस्रो पटक एएफसी कप खेलेको हो । शहिद स्मारक लिगमा दोस्रो भएपनि मच्छिन्द्रले यो मौका पाएको हो । लिग विजेता चर्च व्वाईजसँग एएफसी क्लव लाईसेन्स नभएका कारण मच्छिन्द्रले यो मौका पाएको हो । मच्छिन्द्रले सो मौकालाई राम्ररी उपयोग गर्न सफल भएको छ ।
मच्छिन्द्र अघिल्लो पटक एएफसी कपको छनोटको प्रारम्भिक चरणमा श्रीलंकाली क्लवसँग पाराजित भएको थियो । दशरथ रंगशालामा नै भएको खेलमा मच्छिन्द्र १–२ ले स्तब्ध भएको थियो ।