सांसद थापाको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान

भक्तपुर, साउन २३
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान गरी पक्की बनाएको छ । जस्ताको छाना चुहिन थालेपछि सांसद थापाको पहलमा सूर्यविनायक नगरपालिका–१, सिरुटार खत्री टोलका प्रजातन्त्र सेनानी खत्री परिवारका बुहारी जानुका खत्रीको घर ढलान गरिएको हो ।
प्रजातन्त्रका लागि निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध गरिएको क्रान्ति र आन्दोलनमा होमिएका प्रजातन्त्र सेनानीहरु कृष्णबहादुर खत्री ७ वर्ष, रणबहादुर खत्री १४ वर्ष र जयबहादुर खत्री ७ वर्ष प्रवासमा बसेका थिए ।
उनीहरुका बुहारी जानुकाको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र घरको जस्ताको छाना चुहिएर घरभित्र बस्न नसक्ने अवस्थाको जानकारी प्राप्त भएपछि सांसद थापाले व्यक्तिगत सहयोग र पहलमा अन्य दाताहरुको समेत सहयोगमा घर ढलान गरिएको हो ।


सांसद थापाले प्रजातन्त्र सेनानीहरुले तत्कालिन परिस्थितीमा आफ्नो व्यक्तिगत सुखसयल छोडी देश र जनताको लागि प्राणको समेत बाजी राखी प्रजातन्त्र स्थापनाको लागि योगदान दिएकोले त्यसको सधैं उच्च सम्मान गर्नुपर्छ मूल्य र मान्यताले खत्री परिवारको घर ढलानमा सहयोग गरेको बताउनुभयो ।
“प्रजातन्त्र सेनानीहरुको जति सम्मान गरे पनि कम हुन्छ । तत्कालिन समयमा ज्यानको बाजी राखी प्रजातन्त्र सेनानीहरुले गरेको संघर्षका कारण आज लोकतान्त्रिक संघीय गणतन्त्रको सुविधा हामीले उपभोग गर्न पाएका छौं,” उहाँले भन्नुभयो, “प्रजातन्त्र सेनानीका परिवारलाई राज्यले मात्र होइन टोल छिमेकीले पनि सधैं उच्च सम्मान र कदर गर्नुपर्छ । उनीहरुलाई परेको समस्यामा सबै एकजुट भई समाधान खोज्नुपर्छ ।”