भक्तपुरमा बाढी र डुवानमा परेका ५ जनाको उद्धार, माटोको ढिस्को खसेर एक घर पुर्यो

भक्तपुर, साउन २३
अविरल परेको वर्षाले भक्तपुरमा आएको बाढी र डुवानमा परेका पाँच जनालाई सकुशल उद्धार गरिएको छ भने ढिस्को खसेर एक घर पुरेको छ ।
मनोहरा खोलामा आएको बाढीले बगाएका एक जना, भक्तपुर राममन्दिरभित्र फसेका ४ जनालाई सकुशल उद्धार गरिएको हो भने चाँगुनारायण नगरपालिका–१, सम्थलीमा माटोको ढिस्को खसेर एक घर पुरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।
निरौलाका अनुसार मध्यपुर थिमिको बोडेबाट मुलपानी जाने सडकको मनोहरा पुलमुनी बस्दै आएका खोटाङका किरण राईलाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरिएको हो । खाली सिसि, पुरानो कागज, प्लाष्टिकलगायतका कवाडी समान बटुली हिँड्ने राई सोही पुलमुनी बस्दै आएको निरौलाले बताउनुभयो । “मनोहरा खोलामा आएको बाढीले उनलाई बगाउन थालेपछि सशस्त्र प्रहरी बल गुहेश्वरी २२ नं. गण दुवाकोटको टोलीले उनको सकुशल उद्धार गरेको हो,” उहाँले भन्नुभयो ।


यसैगरी प्रहरीले स्थानीयको सहयोगमा भक्तपुर नगरपालिका–४, राममन्दिरभित्र फसेका पुजारीसहित ४ जनालाई सकुशल उद्धार गरेको छ । हनुमन्ते खोलाको छेउमा रहेको राममन्दिरमा पानी पसी डुवानमा परेकाले सोही मन्दिरमा बस्ने ८२ वर्षिय महाराज हरिदास भन्ने भोजराज खरेल, भक्तपुर नगरपालिका–४ राममन्दिर नजिक बस्ने ५५ वर्षिय दुर्गा गरुङ, ११ वर्षिया मेघना गुरुङ र ६० वर्षिया सिता राईलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।
यस्तै अविरल परेको वर्षाले दोलखा भिमेश्वर नगरपालिका–५ माटी घर भई हाल चाँगुनारायण नगरपालिका–१ सम्थली गणेश मन्दिर नजिक बस्ने ३५ वर्षिय बिदुर के.सीको चार कोठे अस्थाई घर माटोको ढिस्कोले पुरेको छ । “घर पछाडीको ढिस्को बगेर आई घरको पर्खाल भत्केको छ । घर पुर्ण रुपमा पुरिएको छ,” प्रनाउ पाठकले भन्नुभयो ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली घटनास्थल पुगेर घरभित्रको सामान निकाल्ने कार्य भइरहेको सहायक प्रजिअ निरौलाले बताउनुभयो । घरको क्षतीबारे एकिन विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
यस्तै अविरल वर्षाका कारण सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित ल कलेज जाने बाटोमा रुख ढलेर सडक अवरुद्ध भएको निरौलाले बताउनुभयो ।
यसैगरी अविरल परेको वर्षाले हनुमन्ते खोला र यसको सहायक खोलामा आएको बाढीले भक्तपुरका विभिन्न स्थान डुवानमा परेको छ । हनुमन्ते खोलाको बहाव बढेर आउँदा भक्तपुर नगरपालिका–१ धालाखुसी, वडा नं. ३ स्थित बाराही पुल, वडा नं. ४ स्थित राममन्दिर र शान्ति निकेतन मावि, आदर्शचोकस्थित सिद्धि स्मृति अस्पताल र वडा नं. ७ स्थित हनुमानघाट, थुसाचालगायत विभिन्न ठाउँ डुवानमा परेको छ ।
डुबानले खोला छेउको धानबालीमा क्षती पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरु समेत डुबानमा परेको सहायक प्रजिअ निरौलाले बताउनुभयो ।