प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक फिर्ता गर्न एन प्याव्सन भक्तपुरको माग

भक्तपुर, साउन २३
नेसनल प्याव्सन (एन प्याव्सन) भक्तपुरले प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक समग्र देशको शिक्षा प्रणालीलाई नै ध्वस्त पार्ने नियतले आएको बताएको छ । एन प्याव्सन भक्तपुरको सोमवार बसेको आकस्मिक बैठकले उक्त विधेयक तत्काल फिर्ता गर्नुपर्ने माग समेत गरेको छ ।
नयाँ विधेयक प्रारम्भ भएको पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीको रूपमा रूपान्तरण गर्नुपर्ने लगायतका प्रावधान खारेज नगरे देशभरका निजी लगानीका सम्पूर्ण शिक्षण संस्था बन्द गरी सञ्चालकहरु सडक आन्दोलनमा जानुपर्ने परिस्थिती सिर्जना गरेको एन प्याव्सन भक्तपुरले जनाएको छ ।
सरकारले मात्र शैक्षिक क्षेत्र धान्न नसक्दा निजी लगानीमा विद्यालय खोल्न आह्वान गर्ने तर आज निजी क्षेत्रले दिएको योगदानका कारण विद्यालय तहमा नेपालको लगानी बाहिरिनबाट जोगिएको एवं गुणस्तरीय शिक्षाको साथै रोजगारी समेत प्रदानको गरेको सन्दर्भ भुलेर छलफल विना नै शिक्षा विधेयक ल्याउनु बाह्य चलखेल समेत रहेको जिकिर गर्दै तत्काल विधेयक फिर्ता लिनुपर्नेमा एन प्याव्सन भक्तपुरले जोड दिएको अध्यक्ष सञ्जय खड्काले बताउनुभयो ।
उहाँले नेपालको शिक्षा प्रणाली सुधार गरी विदेशमा पढ्न जाने प्रवृत्ति रोक्नुपर्नेमा नयाँ शिक्षा नीति ठिक विपरित आएको बताउनुभयो । “गुणस्तरीय एवं सीपमूलक उच्च शिक्षाको खोजीमा विद्यार्थीहरु विदेशिने क्रमले कलेज÷क्याम्पसहरु खाली भइरहेको बेला पर्याप्त गृहकार्य एवं सरोकारवालाहरुसँग छलफल विना प्रस्तावित संघीय शिक्षा विधेयकले अब विद्यालय तह पनि क्रमशः खाली हुने तर्फ उन्मुख हुने देखिन्छ, उहाँले भन्नुभयो ।