निर्माण सम्पन्न नहुँदैं भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक

भक्तपुर, साउन २३
भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको हो ।
सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयले लापरवाही गर्दा उक्त सडक निर्माण सम्पन्न नहुँदैं विभिन्न स्थानमा भुक्षयले सडक भत्किन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा सर्वदलिय राजनीतिक संयन्त्र, सडक निर्माण आयोजना, निर्माण व्यवसायीका प्रतिनिधि र सञ्चारकर्मीहरुको संयुक्त टोलीले सोमवार गरिएको सडक अनुगमनका क्रममा नेपाली सेनाको खरीपाटी व्यारेक नजिकको घुमाउने, चाँगुनारायण नगरपालिका वडा नं. ६ बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक, बाघमारा, नगरकोट बसपार्क नजिकलगायतका स्थानमा सडक भत्किन र भासिन थालेको हो ।


खरिपाटी सेनाको व्यारेक नजिक शिवशिखर वचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको वेभरेज र खाद्य उद्योगबाट निस्किएको पानी लापरवाहीपूर्वक सडकमा छोड्दा उक्त स्थानमा भूक्षयले सडक भासिन थालेको छ । उक्त उद्योगबाट निस्किएको पानीलाई ड्रेन बनाई कटाउने प्रयास गर्दा नेपाली सेनाले आफ्नो जग्गामा सडकको पानीको निकास लिन नसक्ने भन्दै रोक लगाएपछि उक्त स्थानमा भूक्षय हुन थालेको भक्तपुर–नगरकोट–सिपाघाट÷बालाजु–त्रिशुली सडक योजनाका सव–इन्जिनियर सुनिता धुकुछुले बताउनुभयो ।
“पटक पटक सेनासँग पानीको निकासको लागि आग्रह गर्दा मान्नुभएन । उद्योगलाई पनि पटक पटक पानी नपठाउन आग्रह गर्दा समेत अटेर गरेको छ,” उहाँले भन्नुभयो ।


यसैगरी नगरकोट बास्तोला गाउँ युटर्न रेष्टुरेन्ट नजिक नगरकोट सडकको माथिल्लो भिरालो डाँडामा जग्गा प्लटिङ गरेको र सो प्लटिङबाट खस्न थालेको पहिरोले नगरकोट सडकलाई क्षती गर्न थालेको छ । वर्षा हुने बित्तिकै प्लटिङबाट भेल बगेर आउने र सो भेलले लेदोसहितको माटो बगेर सडक अवरुद्ध पार्ने गरेको छ । सडकको माथिबाट बगेर आउने लेदोले बाटोको मुनीको भागमा भूक्षय हुन थालेको छ । प्लानिङबाट बगेर आउने माटोले सडक दुर्घटनाको समेत जोखिम बढेको छ ।
अत्यन्त भिरालो जग्गामा भएको प्लानिङ अवैध भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । प्लानिङ भइरहेको जानकारी आउनासाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई प्लानिङको काम रोक्न निर्देशन दिईएको जानकारी दिनुभयो । अहिले प्लानिङको काम रोकिएको अवस्था छ ।


यस्तै नगरकोट बाघमारामा नगरपालिकाले नै सहायक सडक निर्माणक्रममा सडकको ड्रेनलाई व्यस्थित नगर्दा उक्त ड्रेनको पानी मूख्य सडकमा आउने गरेको र सो पानीले सडकको अर्को किनारमा भूक्षय हुन थालेको छ । भूक्षयले सडक चर्किने र भासिन थालेको र कुनै पनि बेला ठूलो भूक्षय गई बाटो अवरुद्ध समेत हुन सक्ने देखिएको छ ।
नगरकोटकै एक स्थानमा स्थानीयले घर जाने सहायक मार्ग बनाउने क्रममा नगरकोट सडकको ड्रेन नै पुरीदिँदा सडकको अर्को किनारमा ठूलो भूक्षय गएको छ । आयोजनाले हाल सो स्थानमा सेरवाल लगाएर रोकथाम गरिसकेको छ । तर पनि ड्रेनको निकास नहुँदा जोखिम रहेको छ ।
नगरकोट बसपार्क नजिक एक व्यवसायीले आफ्नो जग्गामा जाने सहायक मार्ग निर्माण गर्दा नगरकोट सडकको ड्रेन पुरीदिँदा अर्को किनारमा भूक्षय भई सडक भत्किन थालेको छ ।


अनुगमनमा सहभागीहरुले सडक निर्माणका क्रममा आयोजना र निर्माण व्यवसायीले स्थानीय पालिका, प्रशासन र स्थानीय जनतासँग सहकार्य र समन्वय नगरेको पाईएको प्रतिक्रिया दिए । अलिकति मात्र समन्वय र सहकार्य भएको भए निर्माण सम्पन्न नहुँदै सडक भत्किने समस्या आउन नसक्ने निष्कर्ष अनुगमनकर्ताहरुको थियो ।
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले नै ताकेता गर्दा पनि आयोजना र निर्माण व्यवसायी समन्वयका लागि नआएको बताउनुभयो । “जहाँ समस्या आउँछ त्यहाँ नगर प्रमुख र उपप्रमुख स्वयम् उपस्थित भएर समस्या समाधान गरिदिन्छौं । सडक छिटो भन्दा छिटो निर्माण सम्पन्न हुनुप¥यो भन्दा पनि उहाँहरु आउनुहुन्न,” उहाँले भन्नुभयो ।
यसैगरी अनुगमनकर्ताहरुले सडकको गुणस्तरमा समेत आशंका व्यक्त गरेका छन । सडक निर्माण सम्पन्न भई कालोपत्रे भएका धेरै स्थानमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेको देखिएपछि सडकको गुणस्तरका बारेमा आशंका पैदा भएको हो ।
“अनुगमनका क्रममा ठाउँठाउँमा सडक खाल्डाखुल्डी परेको देखियो । यसको प्राविधिक पक्ष र गुणस्तरका बारेमा छुट्टै नापजाँच होला । तर सरसर्ती हेर्दा गुणस्तरमा शंका उत्पन्न भएको छ,” नेपाली कांग्रेसका जिल्ला सचिव सुशिल बस्नेतले भन्नुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाले सडकको गुणस्तरका बारेमा प्राविधिक जाँच गर्नुपर्ने देखिएको बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल बासुले जुन खालको कालोपत्रे नगरकोट सडकमा गरियो, यस्तो कालोपत्रे यहाँको भूबनोटमा अनुकुल नभएको होकी भन्ने आशंका व्यक्त गर्नुभयो ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहमहामन्त्री रविन्द्रप्रताप शाहले सडक निर्माणमा भएको ढिलाई र पटक पटकको म्याद थपले नेपालको ठेक्का प्रणाली नै नमिलेको बताउनुभयो । नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रामेश्वर बस्नेतलगायतले सडक छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रिजालले निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाईएको बताउनुभयो । उहाँले सडक निर्माण अन्तिम चरणमा पुगेको देखिएपनि ठाउँठाउँमा भत्किन थालेको देखिएकोले यसको गुणस्तरको परीक्षण हुनुपर्ने देखिएको प्रतिक्रिया दिनुभयो ।
आयोजनाका सव–इन्जिनियर धुकुछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउँदैं नगरकोट बसपार्कको करिव ४ सय मिटरको काम सम्पन्न भएपछि आयोजनाको काम पुरा हुने जानकारी दिनुभयो ।
सडक निर्माण कम्पनी शैलुङ् कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले बाँकी रहेको ४ सय मिटरमा रहेको विद्युतको पोल हटाउन प्राधिकरणमा रकम जम्मा गरिसकेको जानकारी दिँदैं पोल हटाएपछि वर्षा रोकिने बित्तिकै सडकको निर्माण शुरु गरी तोकिएको म्यादभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउनुभयो ।
कमलविनायकदेखी नगरकोटसम्मको करिव १६ कलिोमिटर लामो उक्त सडक सुधार एवम् बिस्तारको लागि भारतीय निर्माण कम्पनी एआईपिएल र नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सनले संयुक्तरुपमा ठेक्का लिएको थियो ।
कुल ५२ करोड ९६ लाख रुपैंया लागतको उक्त सडक एआईपिएल र सैलुङ्गले २०७१ जेठमा ३१ करोड ५२ लाख ९२ हजार रुपैंयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण शुरु भएको उक्त सडकको पटक पटक म्याद थप भइसकेको छ । ठेक्का म्याद थपसँगै लागत समेत बढेको छ । ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम करिव ३६ करोड पुगेको छ ।