घाँस र झारपातले कुरुप देखियो काठमाण्डौं–भक्तपुर ६ लेन सडक

लक्ष्मी गारु, भक्तपुर, साउन १८

सडकको सौन्दर्यका लागि निर्माण गरिएका बगैंचाको उचित स्याहारसुसार नहुँदा काठमाण्डौं–भक्तपुर ६ लेन सडक कुरुप देखिएको छ । भक्तपुरको मध्यपुर थिमि वडा नं. १ लोहकिल्थली मनोहरा पुलदेखी सूर्यविनायक चोकसम्म ६ लेन सडकको बीचमा निर्माण गरिएको बगैंचा र सडक किनारको पेटी झारपात र लामोलामो घाँसले भरिन थालेपछि सडक कुरुप देखिएको हो ।
सो सडकको बीचमा सडकको सौन्दर्य र हरियाली प्रवद्र्धनका लागि विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको छ । ती बोटबिरुवाको हरियाली, विभिन्न प्रजातिका फुलले सडकको सौन्दर्यका साथै शहरको समेत सौन्दर्य बढाउने कार्य गरेपनि उम्रिएका घाँस र झारपात समयमा नउखेल्दा र बिरुवाको हाँगा छिमलेर स्याहार नगर्दा सडक नै कुरुप बन्दै गएको हो ।
सडकको सौन्दर्यका लागि मध्यपुर थिमि नगरपालिका र राष्ट्रको नाममा दुई घण्टा अभियानले प्रत्येक शनिवार सरसफाई र सडकको दुवै किनारमा वृक्षारोपण समेत गरिरहेको छ । हरियाली प्रवद्र्धन अन्तर्गत नगरपालिका र अभियानले डिभिजन वन कार्यालयसँगको सहकार्यमा वृक्षारोपण अभियान शुरु गरेको हो । तर तालुकदार निकाय काठमाण्डौं–भक्तपुर, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास सडक सुधार आयोजनाले नियमित सरसफाई र सडकको बीच भागमा रहेको बगैंचाको स्याहारसुसार नगर्दा सडकको मात्र होइन शहरकै सौन्दर्यमा असर गरेको छ ।
सो सडक काठमाण्डौं–भक्तपुर, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास सडक सुधार आयोजना अन्तर्गत रहेको छ । सडकको नियमित ममर्त सम्भार, रेखदेख र हेरचाह आयोजनाले नै गर्दै आएको छ । आयोजनाले नै सडकमा रहेका बगैंचाको स्याहारसुसार र ममर्त गर्दै आएको आयोजनाका सूचना अधिकारी नारायण लामिछाने बताउनुभयो ।
उहाँले आयोजनामा जनशक्ति अभावका कारण सडकको बीचमा रहेको बगैंचाको स्याहारसुसार समयमा गर्न नसकिएको बताउनुभयो । सडक ६ लेनको निर्माण भइसक्दा पनि विगतको दुई लेनको दरबन्दीले काम गर्नु परेकोले समयमा घाँस र झारपात उखेल्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
“पहिला दुई लेन मात्र हुँदा पर्याप्त मात्रामा कामदार थिए । सबै काम समयमै भएर सडक सुन्दर थियो । पछि सडक छ लेन भएदेखि सडकको बगैचामा काम गर्ने जनशक्ति अभाव भयो । सोचे जस्तो भएन,” उहाँले भन्नुभयो ।
योजना अनुसार काम गर्न पटक पटक दरबन्दी थप गरी कर्मचारी व्यवस्था गर्न माग गरेपनि विभागले सुनुवाई नगरेको उहाँले बताउनुभयो । “दरबन्दी थप गर्न पटक पटक ताकेता गरेपनि विभागले सुनुवाई गरेको छैन,” उहाँले भन्नुभयो, “त्यसै कारण सडकको सुन्दरतामा कमी आएको हो । विभागको मापदण्ड अनुसार दुई लेनको सडकको लागि मात्र हामीसँग जनशक्ति छ । अहिले पनि माग गरिरहेका छौ, समय समयमा यस विषयमा छलफल गरिरहका छौ । पठाउने टुङ्गो छैन ।”