मध्यपुर थिमिको सडक धमाधम अपाङ्गमैत्री बनाईदैं

लक्ष्मी गारु, भक्तपुर, साउन १९
मध्यपुर थिमि नगरपालिकाका सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।
सडकको सिमांकन गरी सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने सो पैदलमार्गको बीच भागमा पहेंलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहिनलाई पनि पैदल हिँड्न सहज हुने गरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले बताउनुभयो ।
उहाँका अनुसार वडा नं. ३ को गठ्ठाघरचोकदेखी वडा नं. २ को सानोथिमि चोकसम्मको सडक अपाङ्गमैत्री भएको छ भने थिमिस्थित मध्यपुर अस्पताल हुँदैं सूर्यविनायक नगरपालिकाको गाम्चा जाने सडकमा धमाधम फुटपाथ निर्माणसँगै अपाङ्गमैत्री बनाउने कार्य भइरहेको छ ।


यसैगरी छिट्टै अरनिको राजमार्ग चारदोवाटो चोकबाट बालकोट जाने सडकको हनुमन्ते पुलसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाईने आचार्य बताउनुभयो । यस्तै थिमि चारदोवाटोदेखी नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालहुँदैं सिद्धिकाली चोकसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाउने पहल भइरहेको आचार्यले जानकारी दिनुभयो ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठको विशेष पहलमा सडक विभागले सडकलाई अपाङ्गमैत्री बनाउन थालिएको आचार्यले बताउनुभयो । “नगर प्रमुखको पटक पटकको प्रयास र पहलपछि नेपाल सरकारको विभिन्न निकायले नगरपालिकाका सडकहरुलाई अपाङ्गमैत्री बनाउन थालिएको हो,” उहाँले भन्नुभयो ।


नगरपालिकाले सडकको मापदण्ड अनुसारको सिमांकन गर्ने र सडक विभागले फुटपाथ निर्माण गरी सडकलाई अपाङ्गमैत्री बनाउने कार्य भइरहेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । “हाललाई ‘स्थायी संरचना नछुने, अस्थायी संरचना’लाई नछाड्ने नीति अनुरुप सडकको मापदण्ड बमोजिम सिमांकन नगरपालिकाले गर्ने र ती सडकमा फुथपाथ निर्माण गरी पैदलयात्रीलाई मात्र होइन अपाङ्गता भएकाहरुलाई समेत आवतजावत गर्न सहज हुनेगरी सडक निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो ।
सडकमा अपाङ्गमैत्री पैदलमार्गको निर्माण सँगै सडकको सौन्दर्य समेत बृद्धि भएको स्थानीयको भनाई छ । यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको छ । सानोथिमिबाट गठ्ठाघरतर्फ आउँदैं गर्नुभएकी रिता श्रेष्ठले पैदलमार्गको निर्माणले निर्धक्कसँग हिँड्न पाएको बताउनुभयो । “बालबालिकालाई विद्यालय पुर्याउन र विद्यालयबाट फर्किदा सधै यही बाटो पैदल हिँड्नुपर्छ । पैदलमार्ग नहुँदा सडकबाट हिँड्नु पर्दथ्यो । अब सजिलो भएको छ,” उहाँले भन्नुभयो ।