भक्तपुरमा १२९ बोरा अवैध मल बरामद

भक्तपुर, साउन १९
भक्तपुरमा ठूलो मात्रामा अवैध रासायनिक मल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार कमलविनायकस्थित एन बि मल पसलबाट १२९ बोरा अवैध मल बरामद गरेको हो ।
न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको मल पसलमा नेपाल सरकारको अनुदान प्राप्त मल २ दुई हजार एक सय रुपैंयामा बिक्रि वितरण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा टोली परिचालन गरी छापा मारेको थियो ।
टोलीले कटुभाजुको मल पसलमा भारतबाट ल्याएको अवैध मलसहित १२९ बोरा मल बरामद गरिएको सहायक प्रजिअ निरौलाले बताउनुभयो । “बरामद भएको १२९ बोरा मलमध्ये २० बोरामा कृषि सामग्री लिमिटेड उल्लेख गरिएको छ । अन्य बोरामा नेपालमा बिक्रि वितरण गर्ने भनी उल्लेख नगरिएको पाईएको छ,” उहाँले भन्नुभयो, “ती मल अवैध हो ।”
उहाँले बिक्रेता कटुभाजुले मल खरिदको बिल समेत देखाउन नसकेको जानकारी दिँदैं बिक्रि गर्दा समेत एग्रो वल्र्ड ललितपुर उल्लेख गरिएको बिल दिने गरेको पाईएको बताउनुभयो । प्रशासनले कटुभाजुको पसल सिल गरी अनुसन्धान शुरु गरिएको निरौलाले बताउनुभयो ।