सात दिनमा भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार

भक्तपुर, साउन २०
साताव्यापी खोज तथा उद्धार अभियान अन्तर्गत भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । भक्तपुरलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त बनाउने उद्देश्यले सञ्चालित सात दिने अभियान अन्तर्गत ८ महिला, एक बालिका र ३१ पुरुष गरी कुल ४० जनालाई उद्धार गरिएको हो ।
जसमध्ये काठमाण्डौं कोटेश्वरबाट उद्धार गरिएका एक महिला समेत रहेका छन । ती मध्ये दुई जनालाई पारिवारिक पुनर्मिलन गराईएको अभियानका संयोजक नवराज काफ्लेले जानकारी दिनुभयो ।
अभियानको अन्तिम दिन शुक्रवार राती भक्तपुर कमलविनायकबाट एक महिला र एक पुरुष गरी दुई जना, चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीबाट एक पुरुष, भक्तपुर नगरपालिका भवन अगाडिको बालाखु गणेश भजन खलःको पाटीबाट ४ पुरुष र मध्यपुर थिमि वडा नं. २ जातिगालबाट एक महिलालाई गरी कुल ८ जना उद्धार गरिएको काफ्लेले बताउनुभयो ।


उद्धार गरिएका सहयोगापेक्षी मानवहरुलाई मध्यपुर थिमि–३, कौशलटारस्थित मानव सेवा आश्रम र सूर्यविनायक नगरपालिका–८, सिपाडोल डोलेश्वरस्थित आफ्नो घर आश्रम नेपालले आश्रय दिइ राखेको काफ्लेले बताउनुभयो । “उद्धार गरिएका १६ जनालाई मानव सेवा आश्रम र बाँकी अन्यलाई आफ्नो घर आश्रममा राखिएको छ,” काफ्लेले भन्नुभयो ।
अभियानको मुख्य उद्देश्य सडकमा आश्रय लिइरहेका मानवहरुलाई उद्धार गरी आश्रममा राखी स्वास्थ्य उपचार, उचित स्याहारसुसार र सरसफाई गरी उनीहरुको परिवारको खोजी गरी पारिवारिक पुनर्मिलन गराउनु रहेको काफ्लेले बताउनुभयो ।


उद्धार गरिएका ४० जना मध्ये कोटेश्वरमा भेटिएकी महिलालाई तत्कालै उहाँको परिवारलाई जिम्मा दिईएको बताउँदैं एक बालिकालाई पनि पारिवारिक पुनर्मिलन गराईएको मानव सेवा आश्रमका उपत्यका ईन्चार्ज एवम् केन्द्रीय सदस्य सुमिरा लामाले बताउनुभयो ।
अभियानका क्रममा मादक पदार्थ सेवन गर्ने, मानसिक अस्वस्थता भएका, शारीरिकरुपमा अशक्त, विपन्न, पारिवारिक हेलामा परेका र दिर्घरोगीहरु सडकमा आइपुग्ने गरेको पाईएको आफ्नो सेवा घर आश्रम डोलेश्वरका सञ्चालन बिक्की तामाङले बताउनुभयो ।


“उपत्यका बाहिरका विभिन्न जिल्लाबाट आएकाहरु यहाँ आएपछि अलपत्र पर्ने गरेको र उनीहरु नै अन्ततः सडक, सार्वजनिक पाटी पौवामा आश्रित हुन पुग्ने गरेको पाईन्छ,” उहाँले भन्नुभयो, “उद्धारका क्रममा अधिकांश मादक पदार्थ सेवनगरी हिँड्ने, मानसिक अस्वस्था भएका, शारीरिकरुमा अशक्त, विपन्न वर्ग र पारिवारिक हेलामा परेका मानिसहरु पाईएको छ ।” केही बाटो भुलेर वा हराएर पनि सडकमा आउने गरेको पाईएको उहाँले बताउनुभयो ।
खोज तथा उद्धार अभियानका सञ्चालक मध्येको एक संस्था नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखाका सभापति सुवर्ण हमालले सडकमा आश्रित मानवहरुले राती होहल्ला गर्ने, झैंझगडा गर्ने, समूहमा मागेर हैरानी दिने गरेको र स्थानीय स्तरमा वातावरण समेत दुषित गर्ने गरेको पाईएकोले त्यस्ता सडक आश्रित सहयोगापेक्षी मानवहरुलाई उद्धार गरी स्थायीरुपमा गाँस, बास र कपासको व्यवस्थाले राज्यले गर्ने व्यवस्था गरिनुपर्ने बताउनभुयो ।


खोज तथा उद्धार अभियानमा जोडिनुभएका चाँगुनारायण नगरपालिका वडा नं. २ का अध्यक्ष सोम प्रधानले सडक आश्रित मानवहरुको उचित व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले अवसरको खोजीमा देशको राजधानी काठमाण्डौं आउने व्यक्तिहरु विभिन्न कारणले सडकमा पुग्ने गरेकोले त्यस्ता मानवहरुको खोज तथा उद्धार अभियान समाजलाई नै स्वच्छ र सभ्य बनाउन सहयोगी भएको बताउनुभयो ।


जिल्ला प्रहरी परिसर भक्तपुरको संयोजनमा गत साउन १३ गते रातीबाट शुरु भएको सात दिने अभियान आफ्नो घर आश्रम नेपाल डोलेश्वरधाम, टौमढी युथ क्लव, नगर स्तरिय स्वच्छ हावा प्रवद्र्धन सञ्चाल चाँगुनारायण, वेभ ग्रुप भक्तपुर, गैर सरकारी संस्था नेपाल भक्तपुर शाखा, लायन्स क्लब अफ काठमाण्डौं युनियन, नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखा, पातञ्जल योग सेवा समिति भक्तपुर र प्राज्ञ आदर्श समाज चाँगुनारायण–२ ले संयुक्तरुपमा सञ्चालन गरिएको हो ।
यसैबीच अभियानलाई आगामी ३ महिनासम्म सञ्चालन गर्ने भएको छ । भक्तपुरलाई सडक आश्रित सहयोगापेक्षी मानव मुक्त बनाउने उद्देश्यले आगामी ३ महिनासम्म हप्ताको एक दिन अभियानलाई निरन्तरता दिने सहमती अभियान सञ्चालकबीच भएको संयोजक नवराज काफ्लेले बताउनुभयो ।