भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा

भक्तपुर, साउन २०
‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ आज शनिवार भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम् साँस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउनुहुने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको हो ।
नगरपालिकाको वडा नं. ९ स्थित लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) हुँदै सल्लाघारीस्थित न्हु पुखु (रानी पोखरी) मा पुगेर समापन भएको थियो ।


नगरपालिकाले यसअघि पनि सम्पदाको प्रचार प्रसार गरी पर्यटन उद्योगको प्रवद्र्धनका लागि पटक पटक साँस्कृतिक सम्पदा पदयात्रा गरिसकेको छ । यस पटकको सम्पदा पदयात्राको मुख्य उद्देश्य नगरका पोखरीहरु पर्यटकलाई परिचित गराउनु रहेको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
“यहाँका सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र पुर्खाले सिर्जेको सम्पत्तिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति नगरपालिकाले लिँदै आएको छ । भक्तपुर महोत्सवको तयारीको रुपमा पनि सम्पदा पदयात्रा कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइएको हो, उहाँले भन्नुभयो ।


नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका पोखरीहरुको उपयोगिताबारे प्रष्ट पार्दै पोखरीहरु ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण सम्पदाको रुपमा रहेको बताउनुभयो । “पुरानो सम्पदालाई नयाँ किसिमले उपयोग गर्ने नगरपालिकाको सोच रहेको छ । पोखरीहरुले वरिपरिको वातावरण सफा र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ,” उहाँले भन्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले मानव सभ्यताको विकास सँगसँगै मूर्त र अमूर्त सम्पदाहरुको विकास भएको बताउँदैै यस किसिमको कार्यक्रमले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पदयात्राको क्रममा साँस्कृतिक झाँकीहरु प्रदर्शन गर्नुका साथै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको थियो ।
पदयात्रामा हजारौं स्थानीय बाजागाजा र साँस्कृतिक झाँकीसहित मौलिक पहिरनमा सहभागी भएका थिए । पदयात्रालाई ठाउँठाउँमा स्थानीयले स्वागत समेत गरेको थियो ।