यसवर्ष चपाच्वबाट थिमि भैल प्याखँ प्रदर्शन हुने

फाइल तस्विर

भक्तपुर, साउन २०
यसवर्ष मध्यपुर थिमिको चपाच्वबाट थिमि भैल प्याखँ (थिमि भैरव नाच) सञ्चालन गरिने भएको छ । मध्यपुर थिमिमा गाईजात्राको भोलीपल्टको रातीबाट चार दिन विभिन्न देवीदेवताको प्याखँ (नाच) प्रदर्शन गरिन्छ । यसै सन्दर्भमा यसवर्ष चपाच्वबाट थिमि भैल प्याखँ प्रदर्शन गर्न लागिएको हो ।
मौलिक एवम पौराणिक महत्व बोकेको प्राचिन परम्परागत भैल प्याखँ भाद्र कृष्ण द्वितिया (गु“लागा द्वितिया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ । जसअनुसार यसवर्ष भदौ १५ गते रातीदेखी भैल प्याखँ प्रदर्शन हुनेछ । भैल प्या“ख प्रदर्शनको लागि अनिवार्य रुपमा विविध शास्त्रीय तथा तान्त्रिक विधिहरु पुरा गरिन्छ । त्यसैले यसलाई तान्त्रिक विधियुक्त प्याखँको रुपमा समेत लिईन्छ ।
थिमि भैलमा नाच्ने कलाकार पाँच जना हुन्छ । जसमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना रहन्छ । भने एक जना प्याखँको कजीको रुपमा रहन्छन ।
थिमि भैलमा यसवर्ष सरगत प्रजापति ज्यापुंग, श्यामसुन्दर प्रजापति न्हापाँ भैल, साजन प्रजापति लु भैल, निरोज प्रजापति न्हापाँ दाँगी र नयन प्रजापति लु दाँगीको रुपमा नाच्ने छन भने आशाकाजी प्रजापति कजीको रुपमा रहनुभएको थिमि भैलः चपाच्व २०८० व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
थिमि भैल प्याखँलाई व्यवस्थित ढंगले प्रदर्शन गर्न १७ सदस्यीय थिमि भैलः चपाच्व २०८० व्यवस्थापन समिति गठन गरिएको छ । समितिका अध्यक्षमा चन्द्रकृष्ण प्रजापति, सचिवमा श्यामसुन्दर प्रजापति र कोषाध्यक्षमा रामचन्द्र प्रजापति रहेका छन ।
यसैगरी सदस्यहरुमा दिलकृष्ण प्रजापति, राजेन्द्र प्रजापति, हरिचन्द्र प्रजापति, धनकृष्ण प्रजापति, रत्नकाजी प्रजापति, तुल्सीकृष्ण प्रजापति, उर्मिला प्रजापति, सन्तकृष्ण प्रजापति, बाबुकृष्ण प्रजापति, कृष्णबहादुर प्रजापति, विनोद प्रजापति, तारेमाम प्रजापति, पूर्णकेशरी प्रजापति र ज्ञानलक्ष्मी प्रजापति रहेका छन ।
थिमि भैल प्याखँमा यसवर्ष ७ जना गुरुहरुले नाच सिकाइरहनुभएको छ । समितिका अनुसार सन्तकुमार प्रजापति, तेजकुमार प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, मोहनकृष्ण प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापति गुरुको रुपमा रहनुभएको छ ।
त्यसैगरी बाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिव ३ दर्जनको संख्यामा रहन्छन । यसका साथै प्याखँका कलाकारका सहयोगी समेत करिव ५० जनाको टोली भैल प्याखँमा सहभागी हुने गरेको अध्यक्ष चन्द्रकृष्णले बताउनुभयो ।
थिमि भैल प्याखँ पहिलो चोटी नासननीमा प्रदर्शन गरिन्छ । त्यसपछि प्याखँलाई क्रमशः मध्यपुर थिमिको चपाच्व, गार्चा, ग्वगँ चिवाः, स्वंगाः पुखु, पाचो, दुवाफल्चा, पोबू, भुलाँख्य, ताहाननी, दिगुटोल, लाय्कू, दथुटोल, बालकुमारी, हात्तीमहांकाल, कुतिचिवाः, जलाननी, वाचुननी, कुमाननी, तुलननीमा प्रदर्शन गरिएको थियो ।
भैल प्याखँको खर्च लागि सार्वजनिकरुपमा सहयोगको अपिल गरिएको र स्थानीय सहकारी, विद्यालयलगायतका संघसंस्था, समाजसेवी, स्थानीय व्यवसायी र सर्वसाधारणले समेत स्वईच्छाले आ–आफ्नो गच्छे अनुसारको आर्थिक सहयोग गर्न सकिने व्यवस्था गरिएको कोषाध्यक्ष रामचन्द्र प्रजापतिले बताउनुभयो ।
यसैगरी नगरपालिकाले प्याखँलाई विगतका वर्षहरुमा जस्तै आर्थिक सहयोग उपलब्ध गराईने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । नगरपालिकाको मूल नारा नै हाम्रो कला हाम्रो सँस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने रहेको छ । नारालाई सार्थक बनाउन पनि नगरपालिकाले कला सँस्कृतिको संरक्षणमा विशेष सहयोग गर्दै आइरहेको छ । विगतमा जस्तै यसवर्ष पनि सहयोगलाई निरन्तरता प्रदान गरिनेछ, उहाँले भन्नुभयो ।
पुस्तौं पहिलेदेखी तान्त्रिक विधि अनुसार सञ्चालनमा आएको भैल प्याखँ शुरु शुरुमा थिमिको लायकु (दरवार)बाट लायकु भैलको रुपमा प्रदर्शन गरिन्थ्यो । पछि आएर लाय्कुबाट बाहेक पनि स्थानीय जनता विशेषगरी प्रजापति समूदायबाट लाय्कुसँगको समन्वयमा भैल प्याखँ प्रदर्शन गरिन थालेको इतिहास पाईन्छ ।
तत्कालिन अवस्थामा लाय्कु भैल प्रदर्शनमा आउने भएपछि प्रजापति वा अन्य समूदायबाट भैल प्याखँ निकाल्न नपाईने र अन्य समूदाय वा प्रजापति समूदायले थिमि भैल प्याखँ ननिकालेको अवस्थामा लाय्कुबाट अनिवार्यरुपमा लाय्कु भैल प्याखँ प्रदर्शन गर्नुपर्ने परम्परा रहेको समितिका सचिव श्यामसुन्दर प्रजापतिले बताउनुभयो । सोही अनुसार अहिले पनि लाय्कु भैल सञ्चालकहरुसँगको समन्वयमा थिमिमा भैल प्याखँ निकालिँदैं आएको छ ।
यो प्याखँमा ज्यापुंगःलाई हरिसिद्धिको प्रतिकको रुपमा लिइन्छ । भैल प्याखँमा अरु कलाकारहरुसँग मुकुण्डो हुन्छ तर ज्यापुंगः विना मुकुण्डो नाचिन्छ । यो प्याखँमा ज्यापुंगः हुनेको उमेर कम हुन्छ । भैल र दाँगी क्रोधित हुने बेला शान्त पार्न ज्यापुंगःले देवगणलाई कपासको बिया“ले हान्ने गर्दछ ।
थिमि भैलको न्हापाँ भैललाई दिगु टोलको चण्डी भैल पनि भनिन्छ । चण्डी भैल अथवा प्रचण्ड भैरव अष्ट भैरवको आठ रुपमध्ये एक रुपको रुपमा लिइन्छ । यो भैलको दाया“ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउ“दै बाजाको तालमा नाच्ने गर्दछ । नाचमा यो न्हापाँ भैल ज्यापुंगः पछिको दोस्रो क्रममा बस्ने गर्दछ ।
लिपाँ भैल यो प्याखँमा न्हापाँ भैलको पछाडी बस्ने गर्दछ । लिपाँ भैललाइ क्व“चा भैल पनि भनिन्छ । यो भैल बालकुमारीको भैल द्यो हो । यसलाई बटुक भैरवको प्रतिकको रुपमा पनि लिइन्छ । यो भैलको दाया“ हातमा खड्ग हुन्छ र यही खड्गलाई चलाउ“दै बाजाको तालमा नाच्ने गर्दछ ।
भैल प्याखँको न्हापाँ दागीँलाई बालकुमारीको प्रतिकको रुपमा लिइन्छ । बालकुमारी चण्डी भैलको शक्ति देवी हो । नाचको क्रममा न्हापा दागी“ लिपाँ भैलको पछाडि बस्ने गर्दछ । न्हापा दागी“को दा“या हातमा डमरु हुने गर्दछ । बाजाको तालमा डमरु बजाउ“दैं नाच्ने गर्दछ ।
लिपाँ दागीँ महालक्ष्मीको प्रतिकको रुपमा लिइन्छ । नाचको क्रममा लिपाँ दागीँ न्हापा दागी“को पछाडि बस्ने गर्दछ ।
भैल प्याखँ सम्बन्धी किंवदन्ती अनुसार तत्कालिन समयमा थिमि क्षेत्रका जनताहरुलाई भूत प्रेतले अत्याधिक दुःख दिइरहेको थियो । रातको समयमा मात्र नभई दिनको समयमा पनि दुःख दिन थालेपछि किसानहरु खेतीपाती गर्न जान पनि डराउन थाल्यो । त्यसपछि देशमा हाहाकार मच्चियो । जनताहरु दरबारको राजालाई गुहार्न गयो र राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसंग छलफल गर्दा मानिसहरुमा तान्त्रिक रुपमा भैरव नाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेतहरु टिक्न नसक्ने सल्लाह दिए । सोही आधारमा थिमिमा भैलः प्याख“ सञ्चालनमा आएको विश्वास रहेको छ ।