मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक र पर्ती जग्गा पहिचान गरी संरक्षण गर्ने

भक्तपुर, साउन १७
मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान गरी ती जग्गामा निर्माण भएका गैर कानुनी संरचना हटाउने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बुधवार बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक र पर्ती जग्गा संरक्षणका लागि वृक्षारोपण गर्ने निर्णय समेत गरेको छ ।
बैठकले नगरपालिकाको जग्गा विकास, संयुक्त, सामूहिक अपार्टमेन्ट वा योजनावद्ध आवास हाउजिङ नियमावली २०८० स्विकृत गरेको नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले बताउनुभयो ।
बैठकले पशुपति स्पिनिङ मिल्स र बतास एशोसियट सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक छलफल गरी दुवै कम्पनीसँग वक्यौता कर असुली प्रक्रिया अघि बढाउन सम्बन्धीत कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
यसैगरी सामूदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार तथा व्यवस्थापनका लागि शिक्षक दरबन्दी मिलान कार्यविधि २०८० स्विकृत गरेको नगर प्रवक्ता आचार्यले जानकारी दिनुभयो । साथै नगरपालिकाको आवधिक योजना निर्माण सम्बन्धी कार्य अगाडि बढाउने निर्णय समेत गरेको छ ।