चाँगुनारायणमा ज्येष्ठ नागरिक लक्षित ‘स्वस्थ बुढ्यौली परियोजना’ सञ्चालन हुने

भक्तपुर, साउन १७
चाँगुनारायण नगरपालिकामा ज्येष्ठ नागरिकलाई लक्षित गरी ‘स्वस्थ बुढ्यौली परियोजना’ सञ्चालन हुने भएको छ । स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले नगरपालिकासँगको साझेदारीमा सो परियोजना सञ्चालन हुन लागेको हो ।
परियोजना अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई स्वस्थ, सुरक्षित, मर्यादित र सक्रिय जीवनयापनको लागि सक्षम बनाउने कार्यक्रम सञ्चालन हुनेछ ।
परियोजना सञ्चालनबारे बुधवार नगरपालिकामा आयोजित छलफलमा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेँढाई तथा कार्यक्रम संयोजक राजु राउतले ज्येष्ठ नागरिकहरुको जानसांख्यिक बनावट, परियोजना सञ्चालनको आवश्यकता र महत्वकाबारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख जीबन खत्रीले नगरपालिकाले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा सञ्चालन गरेका गतिविधिहरुलाई समेत परियोजनामा समावेश गरी तयार गरिने विस्तृत कार्यक्रम योजनामा संरक्षण, विपद् जोखिम न्यूनीकरण र जिविकोपार्जनका विषय पनि समावेश गर्न सुझाव दिनुभयो ।
“मानव अधिकारको प्रत्याभुति, सुरक्षित र सम्मानित जीवन जिउन पाउने प्रत्येक ज्येष्ठ नागरिकको मानविय अधिकारको संरक्षण गर्दै, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, उनीहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरि निजहरुप्रति श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्नुपर्ने आजको अवश्यकता हो । यस प्रकारको कार्यमा नगरपालिका रेडक्रस लगायत अन्य गैरसरकारी संस्थासँग सहकार्य गर्न सधैं तयार छ,” उहाँले भन्नुभयो ।


नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले रेडक्रस सधै सरकारको सहयोगी निकायको रुपमा मानवीय क्षेत्रमा कार्य गर्दै आइरहेको बताउँदैं चाँगुनारायण नगरपालिकाले नगरवासी विरामीहरुलाई निःशुल्क रगत तथा रक्ततत्व वितरण गरेकोमा आभार व्यक्त गर्नुभयो ।
स्वीस रेडक्रसका नेपाल प्रमुख कमल बरालले स्थानीय निकायसँग सहकार्य गर्न पाउँदा खुशी ब्यक्त गर्दै गतवर्ष सुर्यविनायक नगरपालिकाको वडा नं २, बालकोटमा संचालित कार्यक्रमको उपलब्धीले गर्दा पनि यस प्रकारको परियोजना सञ्चालनको लागि औचित्य पुष्टी गरेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण, अक्सिजन निःशुल्क रुपमा वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले स्वस्थ बुढ्यौली परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।
छलफलमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका कार्यबहाक सभापति कृष्णेश्वरी हाडा, मन्त्री परशुराम पाण्डे, चाँगुनारायण नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रधान, शिक्षा शाखा प्रमुख बीर बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख सत्य कुमार दुवाल, विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापा लगायतले ज्येष्ठ नागरिकहरुको लागि सञ्चालन गरिने परियोजनाको महत्व तथा समावेश गरिनुपर्ने कार्यक्रम र गतिविधिहरुको बारेमा सुझाव दिनुभएको थियो ।
सो अवसरमा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, शाखा अधिकृत अनुप लामिछाने, रेडक्रसका जिल्ला सदस्य धर्मराज कार्की, कार्यालय प्रमुख उमा थापालगायतको सहभागिता रहेको थियो ।