भत्किन थाल्यो काठमाण्डौं–भक्तपुर ६ लेन सडक, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम

लक्ष्मी गारु, भक्तपुर, साउन १७
अरनिको राजमार्ग अन्तर्गत काठमाण्डौं–भक्तपुर ६ लेन सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेको छ । ओभरल्याप पिच गरेको दुई वर्षमा नै सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो । सडक खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।
यो सडकको थिमि चारदोवाटो – शंखधरचोक खण्डमा काठमाण्डौंबाट भक्तपुर जाने लेनको राष्ट्रिय क्षयरोग केन्द्र अगाडि सबैभन्दा धेरै भत्किएको छ । यो खण्डको खाल्डोले गर्दा दुर्घटनाको समेत जोखिम बढेको छ । यो सडकको भक्तपुरबाट काठमाण्डौं तर्फ आउने लेनको थिमि–कौशलटार खण्डपनि ठाउँठाउँमा कालोपत्रे उप्किएर खाल्डा पर्न थालेको छ भने धेरै स्थानमा चर्किन थालेको छ ।


सडकको जिम्मा रहेको काठमाण्डौं–सूर्यविनायक, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास सडक सुधार आयोजनाका प्रमुख राजेन्द्रलाल दासले जमिनमुनीको सतहबाट पानी आएको कारणले कालोपत्रे भत्किएर सडकमा खाल्डा पर्न थालेको बताउँदैं त्यसको कारण पत्ता लगाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या पहिचानको प्रयास भइरहेको जानकारी दिनुभयो ।
“जमिनमुनीको सतहबाट पानी आएको कारणले कालोपत्रे भत्किएर सडकमा खाल्डा पर्न थालेको देखिन्छ । यसको कारण पत्ता लगाउन सकेका छैनौं । अन्य लाइन एजेन्सीसँग समन्वय गरिरहेका छौं । नगरपालिकासँग समन्वय गरिरहेका छौं । समस्याको पहिचान भएपछि स्थायी समाधान हुन्छ । तबसम्म विकल्पको रुपमा अस्थायी समाधानको लागि प्रयास गछौं,” उहाँले भन्नुभयो ।


उहाँले पानीको गन्धका कारण ढल फुटेर पानी आएको हो की भन्ने आशंका व्यक्त गर्दै समस्या पहिचान गरी स्थायी समाधान गरिने र त्यसभन्दा अघि पानीलाई अन्यत्र पठाएर खाल्डो पुर्ने अस्थायी समाधान गरिने जानकारी दिनुभयो ।
“पानी आएको स्रोत पत्तालाग्यो भने स्थायी समाधान हुन्छ । पानीको गन्धका कारण ढल फुटेर पानी आएको जस्तो देखिन्छ । त्यही पानीले कालोपत्रे भत्काउन थालेको र खाल्डो परेको देखिन्छ,” उहाँले भन्नुभयो ।

मध्यपुर थिमि नगरपालिकाले शुरु गर्यो ममर्त
यसैबीच मध्यपुर थिमि नगरपालिकाले अरनिको राजमार्ग अन्तर्गत थिमि चारदोवाटो शंखधरचोक सडक खण्डको राष्ट्रिय क्षयरोग केन्द्र अगाडिको सडक मर्मतको पहल थालेको छ । सो सडक खण्डमा परेको खाल्डा खुल्डीका कारण दुर्घटना बढेको जनगुनासो बढेपछि नगरपालिकाले काठमाण्डौं–सूर्यविनायक, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास सडक सुधार आयोजना र राष्ट्रिय क्षयरोग केन्द्रसँग सहकार्य गरी समस्या समाधानको पहल गरेको हो ।
केन्द्र अगाडिको मुख्य सडकमा परेको खाल्डो पटक पटक पुरेपनि खाल्डो पर्ने र भत्किने क्रम नरोकिएपछि मंगलवार मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ स्थलगत अनुगमनमा पुग्नु भएको हो । उहाँले आयोजना प्रमुख राजेन्द्र्रलाल दास, आयोजना एवम् नगरपालिकाका प्राविधिक, क्षयरोग केन्द्रका अधिकारीहरु र नगरपालिकाको डोजेरसहित अनुगमन गरी समस्या समाधानका लागि सडक किनारमा रहेको खानेपानीको पाइपको चुहावट जाँच गर्नुभयो ।
सडक आयोजनाको क्षेत्राधिकारभित्र पर्ने भएपनि सडकको खाल्डाखुल्डीले दुर्घटना बढेको जनगुनासो आएपछि समाधानको लागि नगरपालिकाले अग्रसरता लिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।