एन प्याव्सन भक्तपुरद्धारा विद्यार्थीलाई उद्घोषण प्रशिक्षण प्रदान

भक्तपुर, साउन १४
नेसनल प्याव्सन (एन प्याव्सन) भक्तपुरले विद्यार्थीहरुलाई ७ दिने उद्घोषण तथा व्यक्तित्व विकास प्रशिक्षण प्रदान गरेको छ । एन प्याव्सनले ख्वप नमस्ते टेलिभिजनसँगको सहकार्यमा आफ्ना सदस्य विद्यालयका ६६ जना विद्यार्थीलाई सो प्रशिक्षण प्रदान गरेको हो ।
गत साउन ५ गते देखि शुरु भएको प्रशिक्षण कार्यक्रम रुवी भ्याली स्कुल र क्रियटिभ ईङ्गलिस सेकेण्डरी स्कुलमा गरी दुई समूहमा प्रशिक्षण गरिएको कार्यक्रम उपसमितिका संयोजक रमेश प्रसाद सिटौलाले जानकारी दिनुभयो । सहभागीहरुलाई नमस्ते ख्वप्प टेलिभिजनका निर्देशक ऋषिकेष श्रेष्ठ र प्रशिक्षक रुविना श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण समापन समारोहलाई सम्बोधन गर्दै एन प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष विक्रम ढुकुछुले प्रशिक्षणले विद्यार्थी जीवनदेखी नै व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एन प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले व्यक्तिमा भएको बोल्ने क्षमताको विकासको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले कुनै पनि सफलताको लागि निरन्तर प्रयासको खाँचो रहने भएकाले कुशल वक्ता बन्न पनि निरन्तर बोल्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
समापन समारोह प्रशिक्षार्थीहरुले नै सञ्चालन गर्नुका साथै प्रशिक्षणको अनुभव समेत सुनाएका थिए ।