बोधिचर्या विहार, बनेपाको परियत्ति केन्द्रमा पुरस्कार वितरण एवं कृतज्ञता तथा सराहना पत्र प्रदान

सुनीता तुलाधर, बनेपा, असार १४ गते ।
बोधिचर्या विहार, बनेपामा २०७५ देखि २०७९ सालसम्मको परियत्तिका विभिन्न तहमा उत्तीर्ण विद्यार्थीहरुलाई प्राप्ताङ्क–पत्र सहित पुरस्कार वितरण गरिएको छ । बोधिचर्या विहारको बोधिचर्या परियत्ति केन्द्रद्वारा हिजो आयोजित उक्त कार्यक्रममा नेपालका आठौं संघनायक एवं सो विहारका विहारप्रमुख भिक्षु बोधिसेन महास्थविरले बोर्डमा आउन सफल विद्यार्थीहरुलाई तक्मा, बुद्ध प्रतिमा र प्रमाण पत्र प्रदान गर्नुभयो ।


उक्त अवसरमा संघनायक भिक्षु बोधिसेन महास्थविरले कार्यक्रममा उपस्थित भएका सबैजनाले परियत्ति पढौं, परियत्ति पढेर यसलाई बझौं र बुझिसकेपछि पालन पनि गरौं भन्नुहुँदै यसमा उमेरले कुनै रोकतोक नगर्ने बताउनुभयाे । उहाँले बुद्ध धर्म अनुसार आफूले मात्रै लिने वा सिक्ने होइन, आफूलाई प्राप्त भएको अरुलाई पनि बाँडौं भन्नहुँदै कार्यक्रममा उपस्थित नभएकाहरुलाई पनि परियत्ति पढ्न प्रेरित गरौं, गर्न सकोस भनेर मंगल कामना पनि गर्नुभयो ।


नेपाल बौद्ध परियत्ति शिक्षाका केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरले नेपाल लगायत विश्वका अन्य स्थानमा रहेकाहरुले पनि परियत्तिको लाभ लिन सकोस भनेर त्यहाँकाहरुले पनि जाँच दिन सकिने व्यवस्था गरे अनुसार अमेरिका, बेलायत, अष्टे्लिया, भारत लगायत मुलुकहरुमा परियत्ति संचालन भइरहेको जानकारी दिनुभयो ।
परियत्ति पढ्नुका साथै व्यवहारमा समेत प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले हाल परियत्तिको कक्षा १ देखि नै लिखित परीक्षाका साथ ध्यानको प्रयोगात्मक अंक समेत जोड्ने गरी परीक्षा संचालन भइरहेको जानकारी पनि सो कार्यक्रममा उहाँले दिनुभयो। लिखितका लागि ८० अंक र प्रयोगात्मकमा २० अंक छुट्याइएको कुरा उहाँले बताउनुभयो ।


परियत्ति कोविद (कक्षा १०) उत्तीर्ण गर्नुभएकी रुबिना मानन्धरले परियत्ति शिक्षाबाट प्राप्त ज्ञानले जीवनमा आएका समस्याहरुलाई सहजीकरण गर्दै हल गर्न सकेको बताउनुभयो ।
कार्यक्रममा परियत्ति विद्यार्थी सोनी बज्राचार्य लगायत अरुले पनि आ–आफ्नो अनुभवहरु सुनाउनुभएको थियो ।
साथै उक्त केन्द्रमा अध्ययनरत परियत्ति विद्यार्थी शिक्षिका यस्माली मगरले त्रिशरण गाथा, अनमोल शाक्यले चतु आरक्ष भावना लगायत विद्यार्थीहरुले धम्मपद अर्थसहित वाचन, बोज्झङ्ग सुत्र पाठ तथा ज्ञानमाला भजन समेत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न सालमा विभिन्न तहहरुमा प्रथम, दुतिय आदि ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुका साथै केन्द्रलाई सहयोग गर्नुहुने दाताहरुलाई सराहना पत्र पनि दिइएको थियो ।
उक्त केन्द्रका सचिव कृष्ण प्रसाद मानन्धरले केन्द्रको प्रगति विवरण र कोषाध्यक्ष राम मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा बनेपाकै ध्यानकुटी विहारका राहुल महास्थविर लगायत नेपाल, श्रीलंकाका भन्तेगण एवं बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य तथा उपासकउपासिकाहरुको उपस्थिति रहेको थियो ।