भक्तपुरलाई सडक आश्रित मानव मुक्त जिल्ला बनाउन अभियान शुरु

भक्तपुर, साउन १४
भक्तपुर जिल्लालाई सडक आश्रित मानव मुक्त जिल्ला बनाउन शनिवार रातीदेखी सप्ताहव्यापी खोज तथा उद्धारको अभियान शुरु गरिएको छ । भक्तपुरको पाँच तल्ले मन्दिर प्राङ्गणबाट अभियानको पहिलो रात एक महिला र चार पुरुष गरी ५ जनालाई उद्धार गरिएको अभियानमा संलग्न वेभ ग्रुप भक्तपुरका नरेश रञ्जितले बताउनुभयो ।
अभियान अन्तर्गत भक्तपुरका विभिन्न मुख्य चोक, गल्ली, सडकलगायतका पाटी पौवा, सडक पेटीमा बास बसिरहेका सडक आश्रित मानवलाई उद्धार गरी आश्रम, सेवाघर लगायतका पुर्नस्थापना केन्द्रमा राखी पारिवारिक पुनर्मिलन गरिने उहाँले बताउनुभयो ।
अभियानको शुरुवात गर्दै बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले भक्तपुरलाई पहिलो सडक मानव मुक्त जिल्ला बनाउन विभिन्न निकाय एक भएर लाग्नुपर्ने बताउनुभयो । मानिस सडकमा रहरले नबस्ने बताउँदै उहाँले कुनै न कुनै बाध्यताका कारण मानिस सडकमा पुग्ने गरेकोले उनीहरूको उचित व्यवस्थापनका लागि राज्यले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।


सडक किनार वा पाटी पौवामा रात बिताउने सडक आश्रित मानवहरूको उचित व्यवस्थापनका लागि सात दिनसम्म उक्त अभियान चलाइने अभियन्ता नवराज काफ्लेले जानकारी दिनुभयो । भक्तपुरमा भएका विभिन्न संघ संस्थाहरूले सडकबाट उठाएका सडक मानवहरूलाई लालन पालन तथा व्यवस्थापन गर्ने काम गर्ने समेत उहाँले बताउनुभयो ।
अभियान जिल्ला प्रहरी परिसर भक्तपुरको प्राविधिक सहयोगमा आफ्नो घर आश्रम नेपाल डोलेश्वरधाम, टौमढी युथ क्लव, नगर स्तरिय स्वच्छ हावा प्रवद्र्धन सञ्चाल चाँगुनारायण, वेभ ग्रुप भक्तपुर, गैर सरकारी संस्था नेपाल भक्तपुर शाखा, लायन्स क्लब अफ काठमाण्डौं युनियन, नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखा, पातञ्जल योग सेवा समिति भक्तपुर र प्राज्ञ आदर्श समाज चाँगुनारायण–२ को आयोजनामा सञ्चालन भएको हो ।