लम्पी स्किनले भक्तपुरमा ५८६ पशुको मृत्यु, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

लक्ष्मी गारु, भक्तपुर, साउन १६
पशुमा देखिएको लम्पी स्किनको संक्रमणका कारण भक्तपुरमा ५८६ चौपायाको मृत्यु भएको छ । जिल्लाका चार नगरपालिका मध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र ३ भैंसी गरी कुल ५१४ चौपायाको मृत्यु भएको छ भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुर थिमि नगरपालिकामा १० पशुको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
जिल्लाको चाँगुनारायण नगरपालिकामा सबैभन्दा धेरै पशुपालन व्यवसाय रहेको छ । नगरभित्र ठूला ठूला डेरी सञ्चालनमा रहेकोले पनि यहाँ पशुपालन व्यवसाय फस्टाएको हो । अहिले लम्पी स्किनको महामारीले सबैभन्दा धेरै क्षती पनि चाँगुनारायणमा नै भएको नगरालिकाको कृषि शाखा प्रमुख खडक कुमार मैनालीले बताउनुभयो । उहाँका अनुसार चाँगुनारायणमा अझै ४ भैसी र एक हजार १३२ गाई गरी एक हजार १३६ संक्रमति छन भने ५ हजार ६ सय पशु प्रभावित छन ।
गाईभैंसीमा लम्पी स्किनको संक्रमण बढेपछि चाँगुनारायण नगरपालिकाले एक हजार ५ सय डोज खोप खरिद गरी गाईभैंसीलाई लगाईदिएको मैनालीले बताउनुभयो । लम्पी स्किनको संक्रकण उच्च देखिएपछि त्यसको निराकरणका लागि बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयबाट प्राप्त १ लाखबाट पशु चिकित्सक, औषधी सहितको प्राविधिक टोली प्रत्येक टोलको घर घर गएर निरिक्षण गर्नुका साथै खोप लगाईदिएको उहाँले जानकारी दिनुभयो ।
“टोलीले पशुको स्वास्थ्य जाँच गरी आवश्यकता अनुसार भिटामिन, ज्वरोको औषधी, प्रोटिन दिइ खोप लगाउने कार्य गर्दै आइरहेको छ । खटिरा सरसफाईको लागि आवश्यक औषधी वितरण गरेको छ,” उहाँले भन्नुभयो ।
यसैगरी सूर्यविनायक नगरपालिकामा ३८५ गाईभैंसीमा लम्पी स्किनको संक्रमण देखिएको नगरपालिकाको पशु सेवा शाखा प्र्रमुख मिनल शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यविनायकमा १ हजार ८२५ वटा गाईभैंसीलाई लम्पी स्किन संक्रमण विरुद्धको खोप लगाईसकेको छ । यहाँ संक्रमित हुन नदिन पशुलाई मल्टी भिटामिन, पारा सिटामोल, गुल्कोज, घाउ सफा गर्न मलम र पाउडर वितरण गरेको उहाँले बताउनुभयो ।
मध्यपुर थिमिमा एक सय पशुमा लम्पी स्किनको संक्रमण देखिएको र यसबाट प्रभावित पशुको संख्या ७ सय पुगेको नगरपालिकाको पशु सेवा शाखाका प्रमुख थर कुमार थापाले बताउनुभयो । मध्यपुर थिमिमा रहेको करिव एक हजार २ सय पशु मध्ये एक हजार एक सय पशुलाई खोप लगाईएको उहाँले जानकारी दिनुभयो ,
संक्रमण रोकथामका लागि पशु सेवा विज्ञ केन्द्र लगनखेलको प्राविधिक सहयोगका साथै औषधी कृषकलाई निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो । पशु पालन क्षेत्रमा देखिएको रोगबारे कृषकहरुलाई परामर्श तथा त्यसको रोकथामका उपायहरु विभिन्न माध्यमबाट जानकारी गराएको बताउँदैं उहाँले पशुपालनले मानवीय स्वास्थ्यलाई मध्येनजर गरी रोग व्यवस्थापन गरी व्यवसाय सञ्चानल गर्न सचेतना अभियान थालेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाको पशु सेवा शाखाका पशु सेवा प्राविधिक पावती योञ्जनले नगरभित्र एक वटा गाईमा लम्पी स्किनको संक्रमण देखिएकोमा उपचार गरी निको पारिएको बताउनुभयो । पशुमा देखिएको लम्पी स्किनको उपचारका लागि चारै नगरपालिकालाई बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयबाट नगद एक÷एक लाख दिएको बताउँदैं उहाँले सोही रकमले आवश्यक औषधी खरिद गरेको जानकारी दिनुयभो ।
लम्की स्किन लागेका पशुमा उच्च ज्वरो आउने, दुध उत्पादन निकै घटने, छालामा गिर्खा देखिने, ¥याल सिँगान बस्ने जस्ता लक्षण देखिन्छ ।