निःस्वार्थ रुपमा गरिएको राजनीतिले मात्र देशको आर्थिक उन्नति – अध्यक्ष बिजुक्छें

भक्तपुर, साउन १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले निःस्वार्थ रुपमा गरिएको राजनीतिले मात्र देशको आर्थिक उन्नति र गतिशील बनाउने बताउनुभएको छ । ख्वप माध्यमिक विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको अवसरमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले राज्यको उन्नति र प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्ने बताउनुभएको हो ।
“राज्यको उन्नति र प्रगतिमा राजनीतिले मुख्य भूमिका खेल्छ । निःस्वार्थ रुपमा गरिएको राजनीतिले देशको आर्थिक उन्नति गतिशील बनाउने हुँदा विद्यार्थी जीवनदेखि असल राजनीति गर्नतर्फ उत्प्रेरित गरिँदै लानुपर्छ,” उहाँले भन्नुभयो ।
बिजुक्छेंले कलेजमा अध्ययनरत विद्यार्थीहरुले अध्ययन सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको विषयमा पनि चासो राखी देश र समाजको निःस्वार्थ सेवा गर्ने भावनाले अगाडि बढ्न प्रेरित गर्नुभयो ।
बिजुक्छेँले किताबी ज्ञानमा मात्र भर नपरी विभिन्न अध्ययन अनुसन्धानबाट नयाँ नयाँ पत्ता लगाउनेतर्फ विद्यार्थीहरुको चासो हुनुपर्ने बताउनुभयो । देश विदेशको भूगोल अध्ययनले विद्यार्थीहरुमा व्यापक दृष्टिकोणको विकास हुने बताउँदै उहाँले विदेशमा सिकेको ज्ञान र सीपलाई आफ्नै देशमा प्रयोग गरी उपलब्धीपूर्ण काम गर्नु आफैमा एउटा सफलता भएकोमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य प्रेम सुवालले ख्वप विश्वविद्यालय सञ्चालन गरी विद्यार्थीहरुलाई नयाँ नयाँ विषयमा अध्ययन अनुसन्धान गराउने लक्ष्य रहेको बताउनुभयो ।
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक भागबण्डाकै कारण देश लथालिंग अवस्थामा पुगेको बताउँदैं उहाँले सरकारले युवालाई विदेशी भूमिमा सस्तो ज्यामी बनाउन लिएको नीतिको सबैले विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप माविको जगमा उभिएर भक्तपुर नपाले नयाँ–नयाँ शैक्षिक संस्थाहरु स्थापना गर्दै सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै २१ औं शताब्दीको लागि योग्य, देशभक्त नागरिक तयार गर्नेमा यी शैक्षिक संस्थाहरुको विशेष भूमिका रहेको सांसद सुवालले बताउनुभयो ।
“ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन काण्ड प्रकरण आदिमा शासक दलको संलग्नता रहनु आफैमा राजनैतिक नैतिकताको कमीको कारण हो,” उहाँले भन्नुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीले देश र समाजले उपलब्धी हासिल गरेको बताउँदै देशभर जनस्तरबाट शैक्षिक संस्थाहरु सञ्चालन भएमा गरिब जनताका छोराछोरीहरु महँगा विद्यालय र कलेजहरुमा गएर पढ्नुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो । उहाँले अध्ययनको सिलसिलामा वर्षेनी लाखौं विद्यार्थीहरु विदेशिंदै गर्दा नेपालका कलेजहरु संकटग्रस्त अवस्थामा पुगेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् विद्यालय सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको दीर्घकालीन सोच भएको बताउनुभयो ।
नेपाल खुल्ला विश्वविद्यालय व्यवस्थापन तथा कानुन संकायका डीन प्रा.डा. अरहन स्थापितले नेपालमा २०१७ सालबाट खुल्ला विश्वविद्यालय स्थापना भएको र उक्त विश्वविद्यालयले प्रविधिमा आधारित विषयवस्तुहरुको अध्ययन अध्यापनमा जोड दिंदै आएको बताउनुभयो । नेपाल खुल्ला विश्वविद्यालयको शैक्षिक विशेषताहरुमाथि प्रष्ट पार्दै डा. स्थापितले दक्ष जनशक्ति देशकै लागि अर्थपूर्ण सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर, डा. मजेशप्रताप मल्लले ख्वप सर्कलको गौरवपूर्ण इतिहासलाई अझ उँचो बनाउन विद्यार्थीहरुले थप मेहेनत गर्नुपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले भक्तपुर नपाले ‘एक घर एक स्नातक’को अवधारणाका साथ स्थापित कलेजहरुको उद्देश्य क्रमशः पूरा हुने क्रममा रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य तथा ख्वप मा.वि.का पूर्वप्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले कक्षा ११ मा १९ सय २० भन्दा बढी विद्यार्थी भर्ना भएको तथ्यांक प्रस्तुत गर्दै विद्यार्थीहरुलाई खोजमूलक स्वअध्ययनमा सहभागी हुन र सामाजिक सञ्जालको विवेकपूर्ण उपयोग गर्न मार्गनिर्देश गर्नुभयो । सो अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।