होमस्टे स्थानीयको जीवनस्तर उकास्ने पेशा

भक्तपुर, साउन १६
घरबास (होमस्टे) ग्रामिण भेगका स्थानीयका लागि जीवनस्तर उकास्ने पेशा बन्दै गएको सरोकारवालाहरुले जनाएका छन् । उनीहरुले यसको थप प्रचार प्रसार गरी प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिएका छन ।
होमस्टे(घरबास) महासंघ नेपालको प्रथम चाँगुनारायण नगर अधिवेशनमा सहभागीहरुले पछिल्लो समय आधुनिक सुविधा सम्पन्न ठूला होटलको तुलनामा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको भन्दै यसको प्रवद्र्धनमा स्थानीय सरकारले पनि चासो दिनुपर्नेमा जोड दिएका छन ।
चाँगुनारायण नगरपालिका–४, शान्ति पार्कमा सम्पन्न पहिलो नगर सम्मेलनमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरमा होमस्टेको प्रचार प्रसारलाई तीव्र बनाउनुपर्ने बताउनुभयो । उहाँले नगरभित्र १३ वटा होमस्टे हुँदाहुँदै पनि प्रचार प्रसारको अभावले पर्यटक समक्ष यसको जानकारी पुग्न नसकेको बताउनुभयो ।
बागमती प्रदेश सरकारले होमस्टे पर्यटनका लागि टेवा पुग्ने गरी ल्याएको नीति कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै उहाँले चाँगुनारायण नगरमा होमस्टेको विकास, विस्तार र प्रवद्र्धनका लागि विगतमा गरिएका कामहरूको स्मरण गर्नुका साथै थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।
बागमती प्रदेशसभाका अर्को सदस्य सांसद प्रेमभक्त महर्जनले आफू होमस्टेकर्मी नै भएको र होमस्टे एसोसिएसनमा रहेर काम पनि गरेकाले आफूलाई होमस्टेको समस्या के हुन थाहा भएकोले सरकारले ल्याएको होमस्टे मैत्री नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार डी पी ढकालले प्रदेश सरकारले यसपटक भक्तपुर चक्रपथ र मध्यपहाडी राजमार्गसंँग भक्तपुरलाई जोड्ने मेघा प्रोजेक्टलाई प्राथमिकता दिएकाले प्रत्येक डाँडामा होमस्टे खोलेमा आगामी दिनमा सो प्रोजेक्टबाट पाहुनाको आगमनमा सहज हुने बताउनुभयो ।

सो अवसरमा चाँगुनारायण नगरपालिकाका पूर्व नगरप्रमुख सोम प्रसाद मिश्र, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थी, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत विजय कुमार शर्मा लगायतकाले होमस्टेको विकास र बिस्तार गर्न सके स्थानीय स्तरमा रोजगारीको सिर्जना, स्थानीय कला सँस्कृतिको संरक्षण हुनुका साथै स्थानीय जनताको आयआर्जनको स्रोत पनि बन्ने बताउनुभयो ।
यसैबीच अधिवेशनले कान्छा लामाको अध्यक्षतामा होमस्टे महासंघ नेपालको चाँगुनारायण समिति गठन गरिएको छ । नगरपालिकामा दर्ता भएका होमस्टेहरूमध्येबाट प्रतिनिधि चयन गरी समिति गठन गरिएको थियो । नगरपालिकाभित्र १३ वटा होमस्टे दर्ता भई सञ्चालनमा आएको छ जसमध्ये ९ वटा होमस्टेबाट ४४ जना प्रतिनिधिहरूको सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।