चाँगुनारायणमा डेँगी रोकथाम तथा नियन्त्रणका लागि वडा वडामा अभिमुखिकरण

भक्तपुर, साउन १६ 

चाँगुनारायण नगरपालिकाले डेँगी रोकथाम तथा नियन्त्रणका लागि वडा वडामा अभिमुखीकरणका साथै खोज र नष्ट अभियान सञ्चालन गरिरहेको छ । यसैक्रममा आज (मंगलवार) वडा नं. ४ र ७ का वडा विपद् व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रसकर्मी, स्थानीय प्रहरी, स्थानीय विद्यालयका शिक्षकहरु तथा संघसस्थाका प्रतिनिधिहरुलाई डेंगी रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण गरिएको छ ।
चाँगुनारायण नगरपालिकाले तयार गरेको मनसुन पूर्वतयारी योजना अनुरुप डेँगी रोकथाम र नियन्त्रणका लागि समुदायमा गतिविधिहरु सञ्चालन भइरहेकोले समुदायस्तरमा डेंगीबारे जनचेतना बढाउनको लागि सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालको समेत प्रयोग गरिरहेको स्वास्थ्य शाखाका प्रमुख सत्य कुमार दुवालले बताउनुभयो । डेंगीबारे जनचेतना जगाउन र यसको संक्रमण रोकथामका लागि महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवक समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
गत साउन १३ गते शुरु भएको अभियान वडा नं ३, ४, ५, ६, ७, ८ र ९ मा सम्पन्न भइसकेको छ भने वडा नं १ र २ मा यसै हप्ता सम्पन्न गरिने दुवालले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख शान्तिराम खतिवडा तथा स्वास्थ्य अधिकृत दिपक अच्छामीले डेँगी रोग, यसका लक्षणहरु, रोकथाम तथा नियन्त्रणका उपाय, उपचार प्रक्रिया र नेपालमा यसको अवस्थाका बारेमा तथ्यांकगत विवरणको प्रस्तुतीकरण मार्फत जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उपस्थित वडा अध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुख लगायत सहभागिहरुले आफ्ना सुझाब सहित रोकथाम तथा नियन्त्रण सम्बन्धि धारणाहरु राख्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षको नेतृत्वमा स्वास्थ्य केन्द्रका प्रमुखको संयोजनमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका बमाेिजम साविकको वडा अनुसार द्रुत प्रतिकार्य टोली पनि गठन गरिएको थियो ।
चाँगुनारायाण नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्श दाता दिनेश थापाले मनसुनजन्य विपद्को बारेमा जानकारी गराउँदैं पहिरो लगायतका विपद्मा नगरपालिकाका तर्फबाट भइरहेको जोखिम न्यूनीकरणका कार्यहरु र डेँगी रोकथाम र नियन्त्रणका बारेमा नगरपालिकाको तयारीका बारेमा सहभागिहरुलाई जानकारी दिनुभएको थियो ।
उहाँले नगर प्रमुख जीवन खत्रीको संयोजकत्वमा गठित नगरस्तरीय द्रुत प्रतिकार्य समितिको बैठकको निर्णयानुसार वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी वडास्तरीय द्रुत प्रतिकार्य टोली गठन गरी डेँगी रोकथाम तथा नियन्त्रणका गतिविधिहरु सञ्चालन भइरहेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाले स्थानीय एफ.एम तथा रेडियो तथा सामाजिक सञ्जालबाट डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक सन्देश प्रशारण गरिरहेको छ भने नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त पर्चा तथा पम्पलेट महिला स्वास्थ्य स्वयंसेविका मार्फत समुदायमा वितरण गरिरहेको छ । साथै डेँगीको रोकथाम र नियन्त्रणका लागि खोज तथा नष्ट गर्ने कार्य, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा माइकिङ्ग पनि गरिरहेको छ ।