भक्तपुर नगरभित्रका किसान भेलामा धानबालीबारे छलफल

भक्तपुर, साउन १६
भक्तपुर नगरपालिकले किसानहरुलाई धानबालीमा लाग्ने रोग, किरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले आज(मंगलवार) नगरभित्रका अगुवा कृषकहरुको भेला गरेको छ ।
भेलालाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धानबालीमा लाग्ने रोग र किरा नियन्त्रणको विषयमा वडा वडामै प्रशिक्षणहरु सञ्चालन गरी किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले किसानसँग जोडिएका कुनै काम गर्न नसकेको भन्दै उहाँले नार्कका कृषि वैज्ञानिकहरुलाई नयाँ नयाँ अनुसन्धानमा क्रियाशील बनाउनुपर्ने र कृषि प्राविधिकहरु उत्पादन गर्नेतर्फ सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले माटो परीक्षण गर्ने प्रयोगशाला निर्माणमा जोड दिने बताउँदै उहाँले नेपाललाई आत्मनिर्भर बनाउन कृषि अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा खाद्यान्न उत्पादनमा कमी ल्याउनुका साथै विदेशबाट धेरै मात्रामा खाद्यान्न आयात गर्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सबै सजग हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले किसानहरुलाई रोग नियन्त्रणका उपायहरुबारे सजग बनाए खाद्यान्न उत्पादनमा समेत वृद्धि हुने भएकोले नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गर्दैै आइरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान संघका उपाध्यक्ष गोविन्द दुवालले नेपालले कृषि प्राविधिकहरुको उत्पादनमा जोड दिनुपर्ने बताउँदै धानबालीमा लाग्ने रोगहरुबारे किसानहरु समयमै सचेत भए भविष्यमा हुने नोक्सानीबाट जोगिने बताउनुभयो ।
कार्यक्रममा कृषि अधिकृत रवि ख्याजुले धानबालीमा लाग्ने विभिन्न रोगको प्रकोप र त्यसको नियन्त्रणका उपायहरुबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
उक्त कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।