राष्ट्रव्यापी पुरुष खुल्ला भलिबलमा गणतान्त्रिक च्याम्पियन

भक्तपुर, जेठ ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, हर्षचोकस्थित ओम शिर्जनशिल समाजले आयोजित प्रथम राष्ट्रव्यापी पुरुष खुल्ला भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासंघ च्याम्पियन बनेको छ । प्रतियोगिताको सोमवार सम्पन्न फाइनलमा गणतान्त्रिक ओखलढुंगाको लिखु गाउँपालिका ८ लाई ३–१ सेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।
उपाधिसँगै गणतान्त्रिकले ट्रफीसँगै नगद ५० हजार पुरस्कार प्राप्त गरे । दर्शकको अपार समर्थन पाएपनि सर्भिस र स्पाईकमा कमजोर प्रदर्शन गरेको लिखुले उपविजेता बन्दै ट्रफीसँगै नगद २५ हजारमा चित्त बुझाए ।
यसअघि तेस्रो स्थानको लागि भएको खेलमा न्युटन एकेडेमीले आयोजक ओम सिर्जनशिल समाजलाई ३–० को सोझो सेटमा पराजित गरे । न्युटनले १५ हजार र सिर्जनशिलले नगद १० हजार पुरस्कार पाए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा उपाधि विजेता गणतान्त्रिकको वर्चश्व रह्यो । प्रतियोगिताको गणतान्त्रिकका समिप श्रेष्ठ उत्कृष्ट स्पाइकर, सन्तोष रानामगर उत्कृष्ट ब्लकर, मनोज घिमिरे उत्कृष्ट सेटर घोषित भए । यस्तै लिखुका सन्दीप थापा उत्कृष्ट लिव्रो र न्युटनका धिरज काजी बस्नेत उत्कृष्ट सर्भर घोषित भए । फाइनल खेलको म्यान अफ दी म्याच गणतान्त्रिकका विष्णु बस्नेत घोषित भए ।


सो अवसरमा आयोजक ओम सिर्जनशिल समाजले राष्ट्रिय खेलाडी गणतान्त्रिकका विष्णु बस्नेतलाई सम्मान गर्नुका साथै समाजको क्लव भवन निर्माण एवम् प्रतियोगितामा सहयोग गर्नुहुने दातालाई पनि सम्मान गरेको थियो ।
प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कृत गर्दै बागमती प्रदेशका सांसद किरण थापाले खेल क्षेत्रमा आकर्षण बढ्दै गएपनि खेलका पुर्वाधार नहुँदा खेल क्षेत्रको विकास हुन नसकेको बताए । उनले नगरपालिकासँग समन्वय गरी नगरका सार्वजनिक जग्गामा खेलका पुर्वाधार विकासमा आफुले सहयोग र समन्वय गर्ने बताए । उनले समाजको क्लव भवन निर्माणका लागि एक लाख नगद सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले पछिल्लो समय जिल्लामा खेलकुदका गतिविधि बढेपनि आवश्यक स्रोत अभावका कारण सोचे जस्तो हुन नसकेको बताए ।
सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष लच्छुराम न्यौपानेले तत्कालिन दधिकोट भलिबलको उर्वाराभुमी रहेको स्मरण गर्दै प्रतियोगिताले दधिकोटमा भलिबलको माहोल फर्काएको बताए ।
३ दिने प्रतियोगितामा ८ जिल्लाका १० टोलीको सहभागिता रहेको प्रतियोगिताका संयोजक पेशल आचार्यले बताए । आयोजक समाजका अध्यक्ष अर्जुन केसीले प्रतियोगिताको सफलताले आगामी वर्षपनि थप बृहत ढंगले आयोजना गर्ने हौसला मिलेको बताए ।