मध्यपुर थिमिमा असार १६ गते रोजगार मेला हुने

भक्तपुर, जेठ ३०
भक्तपुरको मध्यपुर थिमिमा यही असार १६ गते शनिवार वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले रोजगार मेला गर्ने निर्णय गरेको हो ।
रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदाताहरुलाई एकै स्थानमा ल्याई आ–आफनो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले मेलाले बिद्यार्थी तथा युबाहरु वृत्ति परामर्श सेवाबाट लाभाम्बित हुने विश्वास व्यक्त गर्नुभयो ।
मेलाले स्थानीय सरकारलाई नगरक्षेत्र, जिल्लामा के कति र कस्ता क्षेत्रमा रोजगारीहरुको अवसर रहेछ भन्ने जानकारी हुनुका साथै बेरोजगार युवाहरु कस्ता किसिमका तालिममा संलग्न हुन् चाहन्छन भन्ने बारेमा जानकारी प्राप्त हुने अपेक्षा गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी र रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने छ । यसैगरी निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालीमहरु सम्बन्धी जानकारी दिनुका साथै रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने छ भने स्थानीय रोजगारीको अवसरको पहिचान तथा जानकारी दिईने छ ।
युवाहरुलाई बजारको माग अनुसार के कस्ता सीपयूक्त तालिम आबश्यक छ बन्ने बारे जानकारी दिने, उद्योगहरुलाई सीपयूक्त, अर्धसीपयूक्त जनशक्ति पहिचान गर्न अवसर मिल्ने र नगरक्षेत्र एवम् जिल्लामा कति बेरोजगार युवाहरु रहेछन भन्ने अनुमानित तथ्यांक प्राप्त गर्न सकिने मेलाको प्राविधिक संयोजन गर्ने संस्था ईन्स्युअरका प्राविधिक कोअर्डिनेटर गंगाबहादुर विश्वकर्माले बताउनुभयो ।


दक्ष सीपयूक्त यूवाहरुको सीप रोजगारदाताहरुको मागसँग मेल खाए मेलामै अन्तरबार्ता लिई रोजगारीको सुनिश्चितता हुने, वृत्ति मार्गदर्शन सेवा प्रदान गर्ने, उद्यम ब्यवसाय सुरु गर्न चाहनेहरुको लागि जानकारी, सफल उद्यमीहरुको कथा, अनुभब तथा सिकाईको आदान प्रदान मेलाको प्रमुख आकर्षण हुने विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकले मेला आयोजनाको लागि नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यको संयोजकत्वमा मेला आयोजक समिति गठन गरेको छ । समितिमा भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेशहरी प्रजापति, भक्तपुर चेम्बर अफ कर्मशका अध्यक्ष न्हुँछेंरत्न मानन्धर, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, जिल्ला सहकारी संघका प्रतिनिधि जयकृष्ण दुवा, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, कृषकहरुको प्रतिनिधि आकाश वाडे, कार्यपालिका सदस्य शर्मिला विश्व्कर्मा, सामूदायिक विद्यालयका प्रतिनिधि आदर्श मावि सानोथिमिका प्रधानाध्यापक रामबाबु रेग्मी भक्तपुर घरेलु तथा साना उद्योग संघका श्यामसुन्दर श्रेष्ठ र सदस्य सचिव मध्यपुर थिमि नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्ट रहनुभएको छ ।