भलिबल उपाधिका लागि लिखु र गणतान्त्रिक भिड्ने

भक्तपुर, जेठ २९
भक्तपुरको सूर्यविनायक नगरपालिका ४, हर्षचोकमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि ओखलढुंगाको लिखु र गणतान्त्रिक खेलकुद महासंघ भिड्ने भएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक ओम श्रृजनसिल समाजको टिमलाई ३–२ ले हराउँदै लिखु फाइनलमा पुगेको हो । पहिलो दुई सेट २५–२१ र २५–२२ ले जित हात पारेको श्रृजनसिल विरुद्ध त्यसपछिका लगातार ३ सेट जित निकाल्दै लिखु फाइनलमा प्रवेश गरेको हो ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा गणतान्त्रिक खेलकुद महासंघले न्युटन एकेडेमीलाई ३–१ सेटले पाखा लगायो । पहिलो सेट जितेको न्युटनलाई त्यसपछिका तीन सेट जित्दै गणतान्त्रिकले उपाधि होडबाट रोकेको थियोे ।


फाइनल खेल सोमवार अपरान्ह हुनेछ । त्यसैगरी तेस्रो स्थानका लागि न्युटन एकेडेमी ओम श्रृजनसिल समाजबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टिमले ५० हजारसहित ट्रफि पाउने छ । दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए ।
प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता रहेको छ ।