म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

भक्तपुर, जेठ २८
ईङ्गलिस क्लव म्यानचेस्टर सिटीले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा शनिवार राती इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले क्लबको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
सिटीलाई एतिहासिक सफलता दिलाउन खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै निर्णायक बन्यो । बर्नाडो सिल्भाको कटब्याक माटियो डर्मिएनलाई डिफ्लेक्ट हुँदा अनमार्क रहेका रोड्रीले गरेको प्रहार गोल भएको थियो ।
खेलको ३६ औं मिनेटमा प्ले मेकर केभिन डि ब्रुएनाले चोट बोक्दै मैदानबाट बाहिरिएपछि सिटीलाई केही समस्या परेको थियो । तर, त्यो समस्यालाई पन्छाउँदै सिटीले दोस्रो हाफमा गोल गर्दै च्याम्पियन बन्न सफल भयो ।


सिटीको यो जितसँगै म्यानचेस्टर युनाइटेडेले २४ वर्ष अघि बनाएको ‘ट्रेबल’ जित्ने इतिहास समेत बराबरी गरेको छ । सिटीले प्रिमियर लिग पछि म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितको थियो भने च्याम्पियन्स लिग जितेसँगै १९९९ मा म्यानचेस्टर युनाइटेड पछि एकै सिजनमा तीन उपाधि ‘ट्रेबल’ को कीर्तिमान बनाउन सिटी सफल भएको हो ।
एक गोलले पछि परेपछि इन्टरले पाँच अवसर सिर्जना गरेपनि गोलरक्षक एडर्सन मोराएस बाधक बन्दा १३ वर्षपछि फाइनल जित्ने इन्टरको सपना भने पुरा हुन सकेन । सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जिते यता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।
प्रशिक्षक पेप ग्वार्डिवालाको भने यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो । उनले बार्सिलोनालाई २ पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थि ए। पछिल्लो पटक ग्वार्डिवालाले सन् २०११ मा बार्साबाट उपाधि जितेका थिए ।

च्याम्पियन लिगमा सिटीले यसअघि २०२१ मा अर्को इंग्लिस प्रतिद्वन्दी चेल्सीसँग पराजित हुँदै फाइनल गुमाएको थियो । सिटीले पछिल्ला १२ सिजनमा सातपल्ट लिग उपाधि जिते पनि च्याम्पियन्स लिगको भोक भने अन्त्य गर्न सकेको थिएन ।