भक्तपुरमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु

भक्तपुर, जेठ २८
भक्तपुरको सूर्यविनायकमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । सूर्यविनायक नगरपालिकाको समन्वयमा स्थानीय ओम सृजनशिल समाजको आयोजनामा सूर्यविनायक नगरपालिका–४ हर्सचोकमा भलिबल प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् पत्रकार पेशल आचार्यले बताए ।
प्रतियोगिताको शनिवार उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कोरोनाले थलिएको खेलकुद क्षेत्र यस्तै प्रतियोगिताका कारण चलायमान हुन थालेको बताए । नगरपालिकाले विकास निर्माणका साथै खेल क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको बताउँदैं उनले खेलाडीहरु राष्ट्रका गणना भएकोले नगरपालिकाले खेल क्षेत्रको विकासमा कुनै कञ्जुसाई नगर्ने प्रतिबद्धता जनाए ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले पछिल्लो समय भक्तपुरमा नियमितरुपमा खेल प्रतियोगिता सञ्चालन भइरहेकोले खेलाडीको आकर्षण बढ्दै गएको बताउनुभयो ।
ओम सृजनशील समाजका अध्यक्ष अर्जुन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भलिबल खेलाडीहरु इम रानामगर, विशाल विक, उषा भण्डारी, कामना बिष्ट, शान्तिकला तामाङ्ग, पुनम चन्द र रुपेश कुमार बिष्टलाई सम्मान गरिएको थियो ।