नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेकपा व्युँताउने प्रस्ताव

भक्तपुर, जेठ २८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा व्युँताउने प्रस्ताव गर्नुभएको छ । नेकपा एकिकृत समाजवादी भक्तपुरको प्रथम अधिवेशन शनिवार उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिकरण भएर बनेको नेकपा व्युँताउने प्रस्ताव गर्नुभएको हो ।
उहाँले आफ्नो दल कुनै पार्टीमा विलय नहुने स्पष्ट पार्दै एउटा बलियो कम्युनिष्ट शक्ति स्थापनाका लागि नेकपा व्युँताउने प्रस्ताव गर्नुभएको हो । त्यसका लागि उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको हो ।
‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवावासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौं, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔं,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले यो वर्षका लागि चाहिने रासायनिक मल खरिद गरिसकेको भन्दै अभाव नहुने बताउनुभयो । उहाँले आवश्यक मल आइसकेको दावी समेत गर्नुभयो ।
‘यो वर्ष चाहिने जति मल खरिद गरिसकिएको छ । केही आइसकेको छ, केही आउने क्रममा छ । धेरै ठूलो संकट पर्दैन । हाम्रो धेरै जमिन बाँझो छ, त्यो बाँझो जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम गरेका छौं’ उहाँले भन्नुभयो ।
मन्त्री भुसालले बाँझो जमिन उपयोग गर्न बाँझो जमिन उपयोग गर्ने नीति बनाएर बजेट छुट्याउने काम भएको बताउनुभयो ।
अधिवेशनले श्याम सुन्दर बस्नेतलाई पुनः अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।