बालगोपाललाई मध्यपुर युथको सम्मान

भक्तपुर, जेठ २७
डेब्युमै चर्च ब्वाइज युनाइटेडलाई शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि दिलाउने प्रशिक्षक बालगोपाल महर्जन शनिवार सम्मानित भएका छन । उनलाई मध्यपुर युथ एशोसियसनले सम्मान गरेको हो ।
मध्यपुर युथ एशोसियसनले सानोथिमिस्थित खेल मैदानमा ग्रासरुट फुटबल सञ्चालन गरिरहेको छ । सो ग्रासरुट फुटबलको उद्घाटनको क्रममा महर्जनलाई एशोसियसनले सम्मान गरेको हो । उनलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सम्मानपत्र र उपप्रमुख विजयकृष्ण श्रेष्ठले खाँदा ओढाएर सम्मान गरेको हो ।
महर्जन खेलाडी र प्रशिक्षक दुवै भूमिकामा ए डिभिजन लिग जित्ने प्रशिक्षक हुन । लिगको बीचमा चर्च ब्वाईज सम्हालेका महर्जनले अन्ततः लिगको एक खेल अगावै उपाधि जिताएका थिए ।


महर्जन समकालिन प्रशिक्षकमा सबै भन्दा सफल प्रशिक्षक हुन् । उनले यु १९ टोलीलाई साफ च्याम्पियनसिप, राष्ट्रिय टोलीलाई बंगबन्धु गोल्डकप र थ्री नेसन्स कप, यु २३ लाई १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक र काठमाण्डौं रेजर्सलाई नेपाल सुपर लिगको उपाधि दिलाएका छन ।
एशोसियसनले ग्रासरुट फुटबल अन्तर्गत ६ देखि १३ वर्षसम्मका एक सय १० जना बालबालिकालाई प्रत्येक शनिवार डेढ घण्टा फुटबल प्रशिक्षण दिइरहेको छ । प्रशिक्षणमा फुटबलको आधारभुत र व्यवहारिक ज्ञान दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको ब्यवस्था मिलाइने मध्यपुर युथ एशोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले बताए ।