लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्छ – सभापति देउवा

भक्तपुर, जेठ २७
नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन शनिवार उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्रमा फेरी संकट आउन नदिन कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले कांग्रेस बलियो बनाउन संगठन बिस्तार गरी गाउँगाउँ र टोलटोलमा पुर्याउनु पर्ने बताउनुभयो । उहाँले त्यसका लागि कांग्रेसले विधानमा टोल इकाई समितिको व्यवस्था गरेको बताउँदैं यसले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पु¥याएर यो पार्टीलाई मजदुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
“हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लडदै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी बलियो बनाए मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउन मद्दत पुग्छ । यो पार्टी जति बलियो हुन्छ, जति सक्षम हुन्छ । त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन”, उहाँले भन्नुभयो ।


नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापालाई मन्त्री बनाउनु पर्ने माग सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले सरकार गठबन्धनको भएको र सरकारमा रहेका दलहरुबीच सहमति हुन जरुरी भएकोले कतिपय विषय पार्टीले चाहेर मात्र पुरा नहुने बताउनुभयो । उहाँले मुलुकको संसदको आकार, निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन आवश्यक भएको बताउँदैं त्यस्ता विषयमा सबै राजनीतिक दलको सहमति र ऐक्यवद्धता आवश्यक भएको बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवम् नेता शेखर कोइरालाले कांग्रेसमा गुट उपगुट छैन भन्ने परिस्थिती नभएको बताउँदैं गुट उपगुटले पार्टीलाई समाप्त पार्ने भएकाले त्यस्ता गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।


उहाँले मिश्रित निर्वाचन प्रणालीले लोकतन्त्र र कांग्रेस दुवैलाई कमजोर पार्ने भएकाले निर्वाचन प्रणाली सुधारका लागि कांग्रेसले पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीलाई जनतासँग जोड्नुपर्नेमा जोड दिँदैं जनतासँग कसरी घुलमिल हुन्छ त्यसरी कांग्रेस अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जनतासँग जोड्न सकिएन पार्टी नै समाप्त भएर जान सक्ने चेतावनी समेत दिनुभयो ।
पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताउँदैं आगामी निर्वाचनमा वडा देखी केन्द्रसम्म एक्लै निर्वाचन लड्ने तयारी अहिले देखी गर्नुपर्ने सुझाव दिनुभयो । “पार्टी सञ्चालन गर्दा कतै विधि विधान अनुसार नचलेको हुन सक्छ, कतै मिचिएको हुन सक्छ । यसले पार्टी कमजोर बनाउँछ । पार्टीलाई विधि सम्मत चलाएर आगामी निर्वाचनमा वडादेखी केन्द्रसम्म एक्लै निर्वाचन लड्ने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।


उहाँले पार्टी कहिल्यै कमजोर नभएको जिकिर गर्दै कांग्रेस नेता कार्यकर्ताको मानसिकता कमजोर भएको बताउनुभयो । “अग्रजले भनेका कुरा बिर्सिने कमजोरी गर्यौं । कतै बाटो बिराएको होला । तर कांग्रेस कमजोर भएको छैन । कांग्रेस कमजोर भयो भन्ने मानसिकता कमजोर हो,” उहाँले भन्नुभयो ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालको निर्वाचनमा एक्लै लड्नु पर्छ भनेर अहिले नै वेमौसमी बाजा बजाउन नहुने बताउनुभयो । उहाँले कांग्रेसलाई विधि विधान अनुसार सञ्चालन गरी युवा पुस्तालाई आकर्षित गर्दै बलियो संगठन बनाउन सके आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने परिस्थिती आफैं निर्माण हुने बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्यहरु मदनकृष्ण श्रेष्ठ, रमा पौडेल कोइराला, गंगा अवाल र डा. चन्द्रमोहन यादवले कांग्रेस भित्रका आन्तरिक मनमुटाव हटाएर एकतावद्ध भएर अघि बढे कांग्रेस कहिल्यै कमजोर नहुनेमा जोड दिनुभयो । उहाँहरुले नागरिकता विधेयक, रेशम चौधरीको आममाफी र बजेटमा आलु प्याजमा समेत भ्याट लगाएको विषयमा कांग्रेसका कार्यकता स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।


नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँले प्रदेश र संघिय संसदमा समानुपातिक प्रणाली हटाउनुपर्ने, राष्ट्रिय सभालाई समावेशी र समानुपातिक बनाउनुपर्ने, स्थानीय तहका जनप्रतिनिधिहरुको पनि संख्या घटाएर खर्च कटौती गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश सभा समिति भक्तपुर १ (क)का सभापति जयन्द्र खड्काले गएको स्थानीय, प्रदेश र संघिय निर्वाचनको परिणामले भक्तपुरमा कांग्रेस कमजोर नभएको स्पष्ट पारेको चर्चा गर्दै जिल्ला सभापति थापालाई सभापति देउवाले निर्वाचनका बेला गरेको उद्घोष अनुसार मन्त्री बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले पार्टी रुपान्तरणको नाममा पार्टी सभापतिलाई कमजोर पार्ने कार्य भइरहेको बताउँदैं यसले अन्ततः कांग्रेसलाई कमजोर पार्ने जिकिर गर्नुभयो । उहाँले यस्ता गतिविधि पार्टीको कुन विधि विधान अनुसार भइरहेको छ भन्दै प्रश्न समेत गर्नुभयो ।
“पार्टी सभापतिलाई कजोर गरेर पार्टी रुपान्तर हुन्छ भन्ने कुरा सपना सिवाय अरु हुन सक्दैन । पार्टी कमजोर भए कुनैपनि बेला दुर्घटना हुन सक्छ,” उहाँले भन्नुभयो । उहाँले भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसले एक पटक चुनाव जित्ने र अर्को पटक हार्ने ईतिहास रहेको स्मरण गराउँदैं आगामी २०८४ को निर्वाचनमा पुनः कांग्रेसले जितेर ईतिहास तोड्ने उद्घोष समेत गर्नुभयो ।
उहाँले पार्टीमा केही कमजोरी हुन सक्ने बताउँदैं त्यस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिया पसल र सामाजिक सञ्जालमा कांग्रेसलाई गाली गर्नेहरुलाई कांग्रेसमा कुनै स्थान नरहेको र कुनै अवसर पनि नपाउने चेतावनी दिनुभयो ।
सो अवसरमा भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट प्रदेश अस्पताल बनाउन योगदान दिनुहुने अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थ र सम्मेलनको र निर्वाचनमा प्रचार सामग्री तयारीमा अतुलनीय सहयोग गर्नुहुने साईनो आर्टका बलराम प्रजापतिलाई सम्मान गरिएको थियो । साथै नेपाल साँस्कृतिक संघका कलाकार एवम् थिमिको बासुरी खलःले कुमारी नृत्य, लाखे नाच, झ्याउरे्े नाच र बाँसुरीको मिठो धुनसहितले स्वागत गरेको थियो । यसैगरी कलाकार एवम् जादुगर शेरबहादुर तामाङले जादुको माध्यमबाट मनोरञ्जन गराउनुभएको थियो ।
सम्मेलनमा कांग्रेसका करिव एक हजार ३ सय प्रतिनिधि सहभागी छन । सम्मेलनमा सभापति थापाको राजनीतिक प्रतिवेदन, सचिव सुशिल बस्नेतको वार्षिक प्रतिवेदन एवम् भावी कार्ययोजना र कोषाध्यक्ष धर्मरत्न खाईतुको आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुने सम्मेलन तयारी समितिका संयोजक कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।