नेपालमा एक वर्षमा ५५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना अभिलेख

भक्तपुर, बैशाख २१
नेपालमा गएको एक वर्ष ५५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना अभिलेख भएका छन । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा २०२२ मे १ देखी २०२३ अप्रिल २६ सम्म ५५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना अभिलेख भएको जनाएको हो ।
यसबाट ९३ जना पत्रकार र ८ सञ्चार संस्था गरी १०१ पीडित भएको महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन इकाईमा अभिलेख भए अनुसार उल्लेखित ५५ घटनामा गिरफ्टारका दुई घटना भएका छन । यसैगरी कब्जा अवरोधका ७, दुव्र्यबहार तथा धम्कीका २४, आक्रमणका ११, लैङ्गिक हिँसाका २, विस्थापन १ र पेशागत असुरक्षाका ८ वटा घटना भएको महासंघका महासचिव रोशन पुरीले बताउनुभयो ।
उहाँले बदलिँदो परिस्थितीमा प्रेस स्वतन्त्रताका घटनाको प्रकृति पनि फेरिएको बताउनुभयो । ईन्टरनेटको विकाससँगै शुरु भएको डिजिटल पत्रकारिता आजको मुख्य चुनौती र अवसरका बीच कमजोर साइबर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यममा अनाधिकृत प्रवेश गरी समाचार हटाउने जस्ता घटनाहरु बढ्न थालेको बताउनुभयो ।
महासंघ केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनै पनि बाहानामा प्रेसमाथि अंकुश लगाउन नहुने बताउनुभयो । उहाँले प्रेस जगतले निष्पक्ष, स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट अलग भएर कार्य गर्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको सुसूचित हुन पाउने अधिकारको सुनिश्चितता गर्दै प्रेस स्वतन्त्रतालाई संविधानको मर्म अनुसार रक्षा गर्न सबैजना क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारमाथि हुने हिंसाका घटनामा संख्यात्मक रुपमा कमी आएको भएतापनि प्रवृत्तिगत रुपमा प्रेस जगतप्रति नयाँ खालका चुनौतीहरु थपिदै गएको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गराउन सबै सरोकारवालालाई एक भई समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा बताउनुभयो ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको सहभागितामा निर्माण हुने प्रेस सम्बन्धी कानुन आफैतर्फ फर्किन सक्नै भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता विरुद्धका कुनै कानुन र गतिविधि महासंघलाई स्विकार्य नहुने बताउँदैं पत्रकारिता जगतले पनि निष्पक्ष, सत्यतथ्यमा आधारित भएर पत्रकारिता आचारसंहितालगायतको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकारद्वय डा.महेन्द्र विष्ट र गोविन्द आचाय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ लगायतले विश्व प्रेस स्वन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताका घटनामा कमी आएको देखिएपनि चुनौती र खतरा कम नभएको धारणा व्यक्त गर्नुभयो ।
यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा सिनामगंलचोकबाट महासंघ केन्द्रीय कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।
महासंघको प्रभातफेरीलाई ऐक्यवद्धता जनाउदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्वच्छ पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै संविधानले प्रत्याभूत गरेको व्यवस्थाका आधारमा पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान हुनेगरी प्रेस सम्बन्धी कानुन निर्माण गरिने बताउनुभयो । उहाँले प्रेसजगतको सहभागितामा प्राप्त भएको हालको उपलब्धिप्रति नकारात्मक टिकाटिप्पणी हुन थालेको भन्दै त्यसप्रति पत्रकारिता जगतले सहज भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश, जिल्ला शाखाका प्रतिनिधि सहित पत्रकार तथा नागगरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।