२५६७औं बुद्ध जयन्ती मनाइँदै

भक्तपुर, बैशाख २२
बैशाख शुक्ल पुर्णिमाको अवसरमा आज शुक्रवार २५६७औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमका साथ धुमधामले मनाईंदैछ । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा भएको थियो ।
भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमा कै तिथिमा परेकाले यसदिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले भगवान बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाइदै छ ।
बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्मावलम्बीले विहार, गुम्बा, चैत्य लगायतका स्थानहरूमा भिक्षु, लामा तथा बौद्ध धर्मगुरुका साथै उपासकउपासिकाहरू मिलेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
बुद्धजयन्तीका अवसरमा भगवान बुद्ध जन्मस्थल लुम्बिनी, काठमाडौंस्थित बौद्धनाथ र स्वयम्भुनाथलगायत स्थानमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।
तत्कालिन कपिलवस्तु राज्यका राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्ष सम्म अनवरतरूपमा तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्ति भएपछि सिद्धार्थले भगवान् बुद्धका रूपमा प्रसिद्धि पाए ।
भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न, तृष्णा क्षय गर्ने आठवटा अंग भएकाे एकमात्र मार्ग छ भनी भगवान बुद्धले ज्ञान दिएका छन् । यसलाई बुद्धले दिएका आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ ।
आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्छन्। यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् ।