लक्जमवर्गका मन्त्री फायट भक्तपुर भ्रमणमा

भक्तपुर, बैशाख २२
लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिला मन्त्री फ्रान्ज फायटलगायतका प्रतिनिधिमण्डलले शुक्रबार सांस्कृतिक नगर भक्तपुरको अवलोकन गर्नुभएको छ । प्रतिनिधिमण्डलले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका सम्पदाहरु सुन ध्वाका, भक्तपुर दरबार क्षेत्र, पोटरी स्क्वायर, टौमढीस्थित पाँचतल्ले मन्दिर, फसि देगः लगायतको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो ।
यसअघि मन्त्री फायटलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबार क्षेत्रको प्रवेशद्वारमा भक्तपुरको पहिचान बोकेको कालो भादगाउँले टोपीसहितले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री फायटले भक्तपुरको न्यानो स्वागतप्रति धन्यवाद व्यक्त गर्दै भक्तपुरका सांस्कृतिक सम्पदाहरु आकर्षक रहेको बताउनुभयो ।
प्रतिनिधिमण्डलमा लक्जमवर्गका विकास, सहयोग तथा मानवीय मामिलाका निर्देशक क्रिश्टोफी स्किल्च, भारतका लागि लम्जेमबर्गका राजदूत पेगी फ्राटजेन, सिल्भी डोस सानतोस, जोइ हेन, अ‍ेने निकोलस, साल्भा काब्रास, नेपालका लागि लक्जेमवर्गका मानार्थ वाणिज्य दूत श्रीराम लामिछाने, कोअर्डिनेटर रमेश त्वायनालगायतको उपस्थिति रहेको थियो ।