कोभिड–१९ को महामारी अन्त्य भएको डब्ल्यूएचओको घोषणा

भक्तपुर, बैशाख २३
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अन्त्य भएको घोषणा गरेको छ । डब्ल्यूएचओले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताउँदैं विश्वमा यसको महामारी अन्त्य भएको घोषणा गरेको हो ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो । डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड संकटकाल’ घोषणा गरेको थियो ।
त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको थियो । कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको समय सन् २०२० को मार्चमा डब्लुएचओले कोभिड–१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो । कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्ल्यूएचओको तथ्याङ्कमा उल्लेख छ ।