युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियरको उपाधिसँगै एसिया कपको लागि छनोट

भक्तपुर, बैशाख १९
गुलसन झा र भीम सार्कीको महत्वपूर्ण साझेदारी र ललितनारायण राजवंशीको चार विकेटबाट प्रेरित नेपालले एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । उपाधिसँगै नेपाल यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने एसीसी एसिया कपका लागि छनोट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाले प्रभावित भएपछि दुई दिनसम्म चलेको फाइनलमा युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै उपाधि जितेको हो ।
नेपालको जितका लागि गुलसनले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । गुलसनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक ७५ बलमा पुरा गरेका थिए ।


गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेका थिए ।
युएईको ११८ रनको लक्ष्य पछ्याएको नेपालको शुरुवात राम्रो हुन सकेन । युएईले स्पिनरबाट आक्रमण शुरुवात गरेपछि नेपाली व्याट्सम्यानहरु रन बनाउन संघर्षरत रहेको थियो । यस्तोमा नेपालका दुई ओपनर कुशल भुर्तेल र आरिफ शेखसहित कप्तान रोहित पौडेल सस्तोमा आउट भए ।


ओपनर भुर्तेललाई दोस्रो ओभरमा रोहन मुस्तफाले एलबीडब्लु धरापमा पारे । अर्का ओपनर आसिफ सातौं आभेरमा आयान खानको बलमा ८ रनमा आउट भए । आठौं ओभरको अन्तिम बलमा कप्तान रोहितकुमार पौडेल रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए । रोहित आउट हुँदा नेपाल २२–३ को अवस्थामा पुगेको थियो । भुर्तेलले ८ बलमा १, आसिफले १० बलमा ८ र रोहितले ९ बलमा १ रन बनाए ।
त्यसपछि गुलसन र भिमले क्रिजमा जमेर युएईको आक्रमण झेल्दै महत्वपूर्ण पारी खेले । क्रिजको एउटा कुनाबाट गुलशनले बिस्तारै रन बटुल्दै अर्को कोणबाट भिमले डट बल खेल्दै क्रिजमा टिकेर खेलेर नेपाललाई जिततर्फ दो¥याए ।
युएईका लागि रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । आयन खानले ९.३ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर १ विकेट लिए ।


त्यसअघि त्रिबि मैदानमा सोमवार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट मंगलवार खेल सुरु भएको खेलमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो ।
नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए । युएई ३३ दशमलब १ ओभरमा १० विकेट गुमाएर १ सय १७ रन बनायो ।
युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए ।


ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।
नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २÷२ तथा गुलसन झा, सोमपाल कामीले समान १÷१ विकेट लिए ।
नेपालले एसीसी प्रिमियरको कपको उपाधि पहिलो पटक जितेको हो । जितसँगै नेपाल २१ वर्षपछि एसिया कपमा स्थान बनाउन सफल भएको हो । नेपालले पहिलो पटक सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो ।


सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो । त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने गर्दथे । उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो । नेपाल एसिया कपमा पुगेपनि प्रतियोगिता हुन नसक्दा नेपालले एसिया कप खेल्ने मौका पाउन सकेको थिएन ।
भारत र पाकिस्तानबीचको आन्तरिक विवादको कारण त्यो वर्ष एसिया कप नै रद्ध भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन । त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन ।
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेसँगै एसीसी ईमजिङ कपका लागि छनोट भइसकेको थियो । एसिया कपमा आइसीसीको टेष्ट मान्यता प्राप्त सिनियर टोलीसँग प्रतिष्पर्धा गर्ने मौका पाउने छ ।
यसवर्षको एसिया कपमा नेपाल छनोट भएसँगै समूह ए मा भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिष्पर्धा गर्ने छ । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेको छ ।
एसीसी ईमर्जिङ कपम एसिया टेष्ट मान्यता प्राप्त राष्ट्रका यु २३ टोलीले आइसीसीका एशोसियट राष्ट्रबाट एसीसी प्रिमियर कपमा शिर्ष ३ स्थानमा रहेका नेपाल, युएई र हङकङले प्रतिष्पर्धा गर्ने छ ।


यसैबीच नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाललाई अपराजित रहँदै एसिया कपमा पु¥याउन सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ सन्दीपले ४२ रन बनाएका थिए ।
युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका छन् । वृत्यले ६ खेलमा २ शतक र १ अर्धशतकसहित कुल ४ सय ५४ रन बनाएका थिए । उनले प्रतियोगिताभर ४४ चौका र १८ छक्का हानेका थिए ।
ओमानका तीव्र गतिका बलर बिलाल खानले ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट बलर चुनिएका छन ।