नेपाल र युएईबीचको फाइनल खेल स्थगित, बाँकी खेल मंगलवार हुने

भक्तपुर, बैशाख १८
एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल सोमवारका लागि स्थगित भएको छ । दिउँसो पौने १२ बजेदेखी परेको लगातारको वर्षाले खेल सम्भव नभएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले सोमवारका लागि खेल स्थगित गरेको हो । उनका अनुसार बाँकी खेल रिजर्भ डेको रुपमा रहेको मंगलवार हुनेछ ।
खेल रोकिनु अघि टस हारेर ब्यटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । सोमवार बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुनेछ ।


मंगलबारको बाँकी खेलमा पहिलो बल ललित राजवंशीका लागि ह्याट्रिकको अवसर हुनेछ । २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिकको सम्भावनासहित खेल सुरु गर्नेछन् ।
मंगलवार पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ । पहिलो सुपर ओभर टाई भएमा दोस्रो सुपर ओभर खेलाईने छ । सुपर ओभर पनि सम्भव नभए आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ र नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाउनुका साथै भारत र पाकिस्तान खेल्ने मौका पाउनेछ ।


बर्षा सुरु हुनु अघि युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।
नेपालका लागि ललितनारायण राजवंशीले ४ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २÷२ तथा गुलसन झा, सोमपाल कामीले समान १÷१ विकेट लिए ।