मध्यपुर थिमि नगरपालिकाले शुल्क प्रस्ताव नगर्ने विद्यालयलाई २५ हजार जरिवाना गर्ने

भक्तपुर, बैशाख १८
मध्यपुर थिमि नगरपालिकाले शुल्क सिफारिस नगर्ने विद्यालयलाई कारवाही स्वरुप जरिवाना लिने भएको छ । नगरपालिकाको शिक्षा समितिको बैशाख १७ गते आइतवार बसेको बैठकले शैक्षिक सत्र २०८० का लागि शुल्क प्रस्ताव गरी सिफारिस नगर्ने विद्यालयलाई कारवाही गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार नगरका केही विद्यालयहरुले सरकारी मापदण्ड विपरित चर्को शुल्क उठाउँदैं आएको छ । ती विद्यालयहरुले नगरको शिक्षा समितिलाई बेवास्ता गर्दै शुल्क प्रस्ताव नगरेपछि कारवाहीको प्रक्रिया शुरु गरिएको हो ।
समितिले शैक्षिक सत्र २०८० का लागि शुल्क प्रस्ताव गर्न बारम्बार पत्राचार गर्दा पनि शुल्क प्रस्ताव नगर्ने विद्यालयहरुलाई संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को दफा १६ को उपदफा (१) बमोजिम प्रथम पटकको लागि २५ हजार रुपैंया जरिवाना गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवम् वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताउनुभयो ।
“शुल्क प्रस्ताव नगरेका विद्यालयहरुलाई पहिलो चरणमा सचेत पार्ने उद्देश्यले २५ हजार रुपैंया जरिवाना गर्ने निर्णय गरेका छौं । ती विद्यालयहरुले अटेर गरी पुनः शुल्क प्रस्ताव नगरे शिक्षा नियमावली अनुसार हदैसम्मको कारवाही गरिनेछ,” श्रेष्ठले भन्नुभयो ।
ती विद्यालयलाई समितिले गठन गरेको शुल्क निर्धारण समितिको सिफरिसमा कारवाही गरिएको उहाँले बताउनुभयो । मध्यपुर थिमि नगरपालिकाको शिक्षा समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) ले गरेको व्यवस्था अनुसार २०७९ चैत्र १९ गते शुल्क निर्धारण समिति गठन गरेको थियो ।
समितिले मुलुकको विद्यमान आर्थिक अवस्था असहज भएको र यसको प्रभाव प्रत्येक परिवारमा परेको विशेष परिस्थितीलाई मध्यनजर गर्दै शैक्षिक सत्र २०८० का लागि वाञ्छित सिमा भित्र रहने गरी शुल्क लिने व्यवस्था गर्ने निर्णय गरेको छ ।
जसअनुसार शैक्षिक सत्र २०८० का लागि मासिक शुल्कको हकमा साविक शैक्षिक सत्र २०७९ बमोजिमको शुल्कमा अधिकतम १० प्रतिशतसम्म बृद्धि हुनेगरी निर्धारण गर्ने निर्णय गरेको छ । साथै विविध शुल्कको हकमा शिक्षा नियमावली २०५९ को नवौं संशोधन २०७७ को नियम १४६ बमोजिम लिने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसैगरी समितिले शैक्षिक सत्र २०८० का लागि नगर शिक्षा समितिले तोकेको भन्दा बढी मासिक शुल्क लिएका विद्यालयहरुले बढी रकम अभिभावकलाई फिर्ता गर्न निर्देशन समेत दिएको छ । समितिले विद्यालयले विद्यार्थीबाट लिने शुल्क विद्यालय हाताभित्र सबैले हेर्न सकिने गरी सार्वजनिकरुपमा टाँस गर्नुपर्ने निर्णय समेत गरेको छ ।
नीजि विद्यालयहरुको संस्था प्याव्सन मध्यपुर थिमि नगर समितिका अध्यक्ष निलेश अचार्यले प्याव्सन अन्तर्गतका सबै विद्यालयले निर्धारित समयमा शुल्क विवरण प्रस्ताव गरिएको र शुल्क निर्धारण गर्दा नियमानुसारनै गरिएको बताउनुभयो ।
यसैबीच मध्यपुर थिमि नगरपालिकाको शिक्षा समितिले एसओएस हर्मन माइनर विद्यालयले नयाँ विद्यार्थी भर्नाको लागि गत चैत्रमा लिएको परीक्षाको परीक्षाफल प्रकाशित गर्न रोक लगाएको छ ।
शिक्षा समितिका अध्यक्ष श्रेष्ठका अनुसार एसओएसले शिक्षा नियमावली, एसओएसको विनियमावली र संविधानको समावेशी सिद्धान्त विपरित परीक्षा सञ्चालन गरिएकाले परीक्षाफल प्रकाशनमा रोक लगाएको हो ।
एसओएसले जारी विद्यार्थी भर्ना प्रक्रियामा संविधानको समावेशी सिद्धान्त अनुरुप दलित, आदीवासी जनजाती, महिला, मेधशीलगायतका क्लस्टरमा कोटा निर्धारण नगरेको र एसओएसको विनियमावलीमा व्यवस्था भए बमोजिम स्थानीय विद्यार्थीहरुको समेत कोटा निर्धारण नगरिएकोले शिक्षा समितिले परीक्षाफल प्रकाशित नगर्न निर्देशन दिएको श्रेष्ठले बताउनुभयो ।
सो बारेमा वार्ता भइरहेको जनाउँदैं श्रेष्ठले एसओएसले नियमानुसार प्रक्रिया अघि बढाए परीक्षाफल प्रकाशित हुन नरोकिने बताउनुभयो । एसओएसले शैक्षिक सत्र २०७९ को अन्तिम परीक्षा नहुँदैं गत चैत्रमा विभिन्न कक्षामा नयाँ विद्यार्थी भर्नाको लागि आवेदन माग गरेको थियो ।