अक्षय तृतीया पर्व मनाईंदै

भक्तपुर, बैशाख १०
बैशाख शुक्ल तृतियाको अवसरमा आज सनातन धर्मालम्बीहरुले अक्षय तृतिया पर्व मनाउँदैछन । यो पर्व जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।
अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ । ब्रह्मा–विष्णु–महेश्वरको आव्हान गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ ।
पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ । गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ ।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमकाअनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो । यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन पञ्चांग नहेरी पनि शुभकार्य गर्न सकिन्छ । शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ । अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुने विश्वास छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ । शास्त्रअनुसार वैशाख महिनालाई विष्णुको महिना मानिन्छ र यो महिना विष्णु भक्तिका लागि शुभ हुन्छ ।